वर्ल्डलिंकमा बेलायती कम्पनीको लगानी
निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशनमा बेलायती संस्था सीडीसी ग्रुपले लगानी गरेको छ । बेलायतको विकास वित्त संस्था सीडीसीले एक अर्ब ३५ करोड (१२ करोड डलर) बराबरको लगानी गरेको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
सीडीसीको लगानीले वर्ल्डलिंकलाई नेपालभरि महत्वाकांक्षी इन्टरनेट सेवा विस्तार गर्न र दुर्गम क्षेत्रमा हजारौं घरपरिवार तथा साना
उद्यमीहरुलाई इन्टरनेटमा जोड्न सहयोग पुग्ने वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले बताए ।
वर्ल्डलिंकले आफू नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक संस्था भएको दाबी गर्दै आठ हजार किलोमिटर फाइबर बिछ्याई दुर्गम छत्रकोट
गाउँपालिका अर्घाखाँची, रुरु गाउँपालिका गुल्मीसम्म पुग्नुका साथै कर्णालीमा समेत सेवा विस्तार गरेको बताएको छ।
सीडीसीको पूँजीले यस्तो विस्तारलाई थप गति दिने अग्रवालको भनाइ छ ।
सर्वसुलभ र गुणस्तरीय इन्टरनेटमा सर्वसाधारणको पहुँच सुधार गर्नु नेपालको विकास र आर्थिक बृद्धिको केन्द्र भएकाले नेपालको आर्थिक बृद्धि र समग्र विकासमा योगदान दिन सक्ने विश्वास लिएको वर्ल्डलिंकले बताएको छ ।
समुदायलाई गरीबीबाट मुक्त गर्न सहयोग पुर्याउने कार्यमा इन्टरनेट सेवाले पुलको रुपमा काम गर्ने सीडीसीका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रीनि नागराजनले बताए । उनले भने ‘नेपालभरि रहेका मझौला तथा साना उद्योगहरुमा इन्टरनेटको उपायेयोगिताले उनीहरुलाई विश्व व्यापार र बजारमा पहुँच पुर्याउन मद्दत गर्नेछ ।’
उनले नेपालमा सीडीसीको दोस्रो लगानी भएको बताउँदै इन्टरनेटमा सीडीसीको लगानीले नेपालीहरुको जीवनमा अर्थपूर्ण भिन्नता ल्याउने अवधारणाका साथ वर्ल्डलिंकसँग साझेदारी गरेको बताएका छन् ।
सीडीसीको लगानी सकारात्मक : मन्त्री मातृका यादव
नेपालको निजी क्षेत्रको संस्थामा बेलायती सरकारको स्वामित्वमा रहेको संस्थाले लगानी गर्नु उदाहरणीय भएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बताएका छन् ।
वर्ल्डलिंक कम्युनिकेसन्स र सीडीसी ग्रुपको साझेदारी घोषणा कार्यक्रममा मन्त्री यादवले यस्तो बताएका हुन् । निजी क्षेत्रमा विदेशी लगानी भित्रिनु
सरकारका लागि पनि सुखद रहेको भन्दै उनले भने, "सुखी तथा समृद्ध नेपाल निर्माणको लागि यो लगानीले महत्वपूर्ण भूमिका खेल्नेछ ।"