समाचार विहीबार, कात्तिक ७, २०७६

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

रासस

राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ ।

तस्वीर : रासस

यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकालाई प्रदान गर्‍यो । ती पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ ।

नेपाली साहित्यिक सम्मेलन दार्जलिङको मुखपत्रका रूपमा त्रैमासिक रूपमा दियालो प्रकाशन हुँदै आएको छ । यसका प्रधानसम्पादक नेपाली साहित्यिक सम्मेलन दार्जलिङका अध्यक्ष डा चन्द्रकुमार राई हुन् । उन्नयनका प्रधान सम्पादक अच्युतरमण अधिकारी हुन् ।

कार्यक्रममा ती पत्रिकाका सम्पादक डा राई र अधिकारीले पुरस्कार तथा सम्मान ग्रहण गरेका थिए । सो अवसरमा राष्ट्रकवि घिमिरेले साहित्यकारलाई साहित्यका आँखीझ्यालबाट नियाल्न र राजनीतिक चस्माले नहेर्न आग्रह गरे ।

उनले भने, “मैले जीवनमा जे कर्म गरेँ, अहिले मलाई समाजले त्यहीरूपमा पुरस्कृत गरिराखेको छ । कर्म गर्न छाड्न हुँदैन ।”

राष्ट्रकवि घिमिरेले सरकारले आफू बिरामी पर्दा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएकोमा धन्यवाद दिए ।

शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार अर्पण गर्दै आफूले राष्ट्रकविबाट साहित्य रचना सिकेको स्मरण गरे । नेपाली भाषा र संस्कृतिको क्षेत्रमा धेरै अन्वेषण बाँकी रहेको उनले बताए ।

प्रतिष्ठानका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीले राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानले पुरस्कृत गर्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रतिकृया दिनुहोस