राजपुर–फरहदवा बमकाण्ड : मृतकका अवशेषको पनि अनुसन्धान
राजपुर बमकाण्डको सत्यतथ्य पहिल्याउन रौतहट प्रहरीले घटनामा मारिएको भनिएकाको अवशेषसमेतलाई परीक्षणको लागि पठाएको छ ।
घटनामा मारिएको भनिएका दुवै मृतकको अवशेषको परीक्षणलाई प्रहरीले अगाडि बढाएको छ । मृतकको कपडा र खरानी पनि जाँचका लागि प्रहरीले विधिविज्ञान प्रयोगशालामा पठाएको हो ।
घटनामा मारिएको भनी दाबी गरिरहेका दुवै परिवारबाट मृतकका बाँकी रहेका कपडा घरबाट संकलन गरी प्रहरीले जाँचका लागि काठमाडौं पठाएको हो ।
विस्फोटपछि मृतकलाई जलाएको भनिएको इँटा उद्योगको खरानी पनि संकलन गरेर प्रहरीले परीक्षणका लागि पठाएको हो । इँटा उद्योगको खरानीमा मानव अवशेष भए नभएको परीक्षणबाट स्पष्ट हुने प्रहरीको विश्वास रहेको छ ।
मानव अवशेष भेटिएपछि मृतकले लगाएको कपडाबाट पनि त्यही व्यक्ति हो वा अरु पनि रहेको भन्ने यकिन गर्न सजिलो हुने वैज्ञानिक आधार देखिने प्रहरीको विश्वास रहेको छ ।
मृतकको अवशेषको परीक्षण काठमाडौं स्थित विधिविज्ञान प्रयोगशालामा हुने र त्यहाँ सम्भव नभए अन्य देशका आधिकारिक परीक्षण केन्द्रमा पनि परीक्षणका लागि पठाइने स्रोतको दाबी रहेको छ ।