चाैथाे विश्व महिला सम्मेलनको २५ वर्षको समीक्षा
बेइजिङमा चाैथाे विश्व महिला सम्मेलन भएको २५ वर्ष पुगेको सन्दर्भमा भएको राष्ट्रिय समीक्षा गोष्ठीले २० बुँदे घोषणापत्र जारी गरेको छ । बियोण्ड बेइजिङ कमिटीले आयोजना गरेको गोष्ठीमा सातै प्रदेशका गरी करीब चारसय जना सहभागीहरुबीच छलफल भएर घोषणापत्र जारी गरिएको हो ।
अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको दिगो विकास लक्ष्य प्राप्तिका लागि बेइजिङ घोषणा तथा कार्ययोजनाको पूर्ण एवं प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिँदै बेइजिङ घोषणा तथा कार्ययोजनाका १२ वटा सरोकारका क्षेत्रकै समीक्षा गरिएको कमिटीले हो ।
संघीयता कार्यान्वयन सँगसँगै राजनीतिक, सामाजिक तथा आर्थिक विकासका चरण तथा प्रक्रिया लगायत सार्वजनिक एवं निजी क्षेत्रमा लैङ्गिक सवालहरूको मूल प्रवाहीकरण गर्ने नीति, कानून, कार्ययोजना तथा कार्यक्रमहरु बन्नका लागि घोषणापत्र र कार्यक्रमबाट आएको निचोडले सहयोग पुर्याउने विश्वास आयोजकको छ ।
सन् २०३० सम्ममा राज्यका सबै क्षेत्रमा बराबरी (५०ः५०) सहभागिता कायम गर्न नेपालको संविधानले प्रदत्त गरेका समावेशी एवं समानुपातिक सहभागितालाई कार्यान्वयनका लागि देशभर अभियान संचालन गर्ने लगायत २० बुँदे घोषणापत्र जारी भएको हो ।
अन्य बुँदामा लैंगिक उत्तरदायी शासन पद्धति अवलम्बन गर्नुका साथै युग सुहाउँदो राष्ट्रिय समानता नीति, कानुन, कार्ययोजना तथा कार्यक्रम तर्जुमा गर्नेपर्ने, सबैले पितृसत्तात्मक सोच र व्यवहार हटाई घरपरिवारदेखि राज्य संचालनका हरेक प्रक्रियासम्म भइरहेका विभेदपूर्ण लैंगिक कार्य विभाजन हटाउनुपर्ने, घरेलु काम र हेरचाहलाई राष्ट्रिय जनगणनामा समेट्दै कामको गणना हुनुपर्ने, राष्ट्रिय महिला आयोगलाई तत्काल सदस्य नियुक्त गरी संविधानअनुसार प्रदेशमा पनि विस्तार गर्नुपर्नेलगायत रहेका छन् ।
यस्तै देशभरि बढ्दै गएको महिला हिंसा र बलात्कारका घटना अन्त्यका लागि विशेष अभियान चलाउँदै पीडितको संरक्षणको जिम्मा राज्यले लिनुपर्ने, यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे सबैलाई जानकारी गराउनुपर्ने लगायत बुँदा पनि घोषणापत्रमा समेटिएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।