समाचार विहीबार, कात्तिक ७, २०७६

तिहारका लागि डेढ अर्ब बराबरको भाइमसला आयात

हिमालखबर

भाईपुजामा प्रयोग गरिने भाई मसला करीब डेढ अर्ब मूल्यको आयात भएको व्यापार प्रवद्र्धन केन्द्रले जनाएको छ । १ अर्ब ४६ करोड ८३ लाखको भाई मसला विभिन्न देशबाट आयात भएको छ ।

केन्द्रको अनुसार यो भदौ र असोज महिनामा मात्रै भित्रिएको भाई मसलाको तथ्यांक हो । गत वर्ष चार अर्ब ६० करोड ६४ लाख ४७ हजार बराबरकाे भाई मसला आयात भएको थियो । मसला भारत, पाकिस्तान, इन्डोनेसिया, अमेरिका, ग्वाटेमाला लगायत देशबाट आयात हुने गरेको छ ।

यस्तै याे वर्ष मात्रै तिहारलाई लक्षित गरी ८८ करोड बढीको झिलीमिली बत्ति आयात भएको छ । व्यापार प्रवद्र्धन केन्द्रको तथ्याङक अनुसार ८८ करोड ३८ लाख ४७ हजार आठ सय १९ मुल्यको झिलिमिलि बत्ति आयात भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष दोब्बर झिलिमिली बत्तीको आयात भएको छ । गत वर्ष ४० करोड ४८ लाख ७४ हजार दुई सय ७२ रुपैयाँको विद्युतीय बत्ती आयात भएको थियो । झिलिमिली बत्ती चीनबाट आयात भएको केन्द्रका बरिष्ठ तथ्याङ्ग अधिकृत कृष्णराज बजगाईले बताए ।

तिहारमा घरलाई उज्यालो बनाए लक्ष्मीको बास हुन्छ भन्ने मान्यताले गर्दा घरलाई उज्यालो बनाउने प्रचलन रहेको छ । दियो, पाला, मैनबत्ती जस्ता परम्परागत बत्ती बालेर घर उज्यालो बनाउने प्रचलन हराउँदै गएको छ ।

यस्ता परम्परागत बत्तीहरुको विकल्पमा विद्युतीय बत्तीहरुले स्थान लिन थालेको छ । बजारमा पाइने यस्ता रंगीचंगी बत्तीहरुले परम्परागत बत्तीहरुलाई विस्थापित गरिरहेको छ ।

छिमेकी राष्ट्र चीनबाट आयात हुने यस्ता झिलिमिली बत्तिको मुल्य ६० रुपैयाँदेखि ५ हजारसम्म पर्न जान्छ ।

प्रतिकृया दिनुहोस