डुइङ बिजनेसमा नेपालको फड्को, ११० बाट ९४ औं स्थानमा
व्यवसायिक वातावरण सुधारमा नेपालले उत्साहजनक फड्को मारेको विश्व ब्यांकको नयाँ प्रतिवेदनले देखाएको छ ।
विश्व ब्यांकको डुइङ बिजनेस रिपोर्ट, २०२० ले नेपाल ९४ औं स्थानमा उक्लिएको देखाएको छ । गत वर्ष नेपाल ११० औं स्थानमा थियो ।
गत वर्ष नेपालको स्थान थप खस्किएकोमा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक रुपमा असन्तुष्टि जनाएका थिए । व्यवसायिक वातावरण सुधार्न नसकेको भनी अर्थशास्त्रीहरुले सरकारको आलोचना पनि गरेका थिए । एकै वर्ष फड्को मार्ने गरी व्यवसायिक वातावरण सुधारको सूचकांकले सरकारलाई उत्साहित बनाउने देखाएको छ ।
यद्यपि, सर्वाधिक सुधार गर्ने मुख्य २० देशमा भने नेपाल अटाएको छैन । डुइङ बिजनेसमा उल्लेख्य सुधार गर्ने देशहरुमा भारत, चीन, साउदी अरब, पाकिस्तान आदि छन् । गत वर्ष ७७ औं स्थानमा रहेको भारत १४ अंक सुधार गर्दै ६३ औं स्थानमा उक्लिएको छ ।
विश्व ब्यांकले सन् २०१८ को मे देखि २०१९ को मे महिनासम्मको सम्बन्धित देशको व्यवसायिक वातावरणको अध्ययनपछि यो रिपोर्ट प्रकाशित गरेको हो।
नेपालले निर्माणको लागि अनलाइन अनुमति तथा जग्गा प्रशासनमा सुधार गरेको विश्व ब्यांकले जनाएको छ । त्यस्तै, व्यवसायिक न्यायिक प्रणालीमा सुधार पनि गरेको छ ।