आलम प्रकरणः तत्कालीन प्रहरी निरीक्षकलाई वयानका लागि बोलाइयो
राजपुर–फरहदवा वम विष्फोट प्रकरण अनुसन्धानका लागि तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदीलाई वयानका लागि बोलाइएको छ ।
सुवेदी पहिलो संविधान सभा निर्वाचनको अघिल्लो साँझ इलाका प्रहरी कार्यालय राजपुरमा खटाइएका थिए ।
सुवेदीलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले पत्र काटिसकेको बुझिएको छ ।
घटनाका बेला राजपुर इप्रकामा नै रहेका सुवेदी घटनाको पहिलो प्रत्यक्षदर्शी प्रहरी अधिकृत भएकाले पनि उनलाई वयानका लागि बोलाइएको बताइएको छ।
सुवेदी अहिले काठमाडौंस्थित प्रहरी प्रधान कार्यालय, नक्सालमा डिएसपी छन् ।
घटनाको मुख्य आरोपी निलम्बित सांसद मोहम्मद आफताब आलम यतिबखेर प्रहरी हिरासतमा छन् । पोलीग्राफ परीक्षण गर्न नमानेको आलमले अनुसन्धानमा असहयोग गरेको प्रहरीको बुझाइ छ ।
रहस्यमय चाँहि के छ भने, घटनाकै रात जिल्ला प्रहरी कार्यालय, रौतहटले प्रनि सुवेदीलाई कार्यालयमा सरुवा गरेको थियो ।