उकालो लाग्यो मूल्यवृद्धि , ६ दशमलव १६ प्रतिशत
पछिल्ला केही वर्ष न्यून रहेको मूल्यवृद्धि क्रमशः उकालो चढ्न थालेको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मूल्यवृद्धि दर ६ दशमलव १६ प्रतिशत पुगेको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ ।
अघिल्लो वर्षको यही अवधिमा मूल्य वृद्धि दर ३ दशमलव ८६ प्रतिशत मात्रै थियो ।
राष्ट्र ब्यांकका अनुसार, सबैभन्दा धेरै मसलाको मूल्य १४ दशमलव ४८ प्रतिशतले बढेको छ । त्यस्तै फलफूल १२ दशमलव ९७ प्रतिशत र तरकारीको मूल्य १० दशमलव ९ प्रतिशतले बढेको छ । मदिराको मूल्य ८ दशमलव ९४ र माछामासुको मूल्य ८ दशमलव ६ प्रतिशतले बढेको छ ।
लत्ताकपडा र जुत्ताको मूल्य ६ दशमलव ८८ तथा घरभाडा ६ दशमलव ७९ प्रतिशतले बढेको छ ।
तथ्यांकका अनुसार, सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ७ दशमलव ९ प्रतिशतले मूल्य बढेको छ । तराईमा मूल्यवृद्धि दर ५ दशमलव ६९, पहाडमा ५ दशमलव ०९ र हिमालमा ५ दशमलव ०२ प्रतिशत छ ।