रेमिटेन्स घट्यो, शोधनान्तर स्थिति रु. ९ अर्ब बचतमा
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिटेन्स ०.३ प्रतिशतले घटेको छ । भदौसम्ममा रेमिटेन्स १ खर्ब ५३ अर्ब ७३ करोड मात्र भित्रिएको नेपाल राष्ट्र ब्यांकको तथ्यांक छ ।
गत वर्षको यही अवधिमा रेमिटेन्स ३३ दशमलव ४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटेन्स १ दशमलव ३ प्रतिशतले घटेको छ ।
यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ० दशमलव २ प्रतिशतले बढेको छ । जुन गत वर्षको यही अवधिमा ३९ प्रतिशतले घटेको थियो ।
त्यस्तै, पुन श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या १० दशमलव ३ प्रतिशतले बढेको छ । यसले वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहे पनि रेमिटेन्स आप्रवाह भने घटिरहेको देखाएको छ ।
तथ्यांकका अनुसार, भदौसम्म देशको शोधनान्तर स्थिति (देश भित्रिने र बाहिरिने रकम बीचको अन्तर) रु. ८ अर्ब ८३ करोडले बचतमा छ । यो अघिल्लो वर्षको यही अवधिमा २५ अर्ब ४५ करोडले घाटामा थियो ।
तथ्यांकका अनुसार, प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह बढेको छ । भदौसम्ममा रु. १ अर्ब ९८ करोड वैदेशिक लगानी भित्रिएको छ, जुन गत वर्षको यही अवधिका तुलनामा ६०.८ प्रतिशत बढी हो ।