बढ्यो निर्यात दर, घट्यो आयात दर
चालु आर्थिक वर्षको पहिलो दुई महीनामा देशको वस्तु निर्यात २५ दशमलव ९ प्रतिशतले बढेको छ । भदौसम्ममा रु. १८ अर्ब ५० करोडको वस्तु निर्यात भएको छ ।
भारत तर्फको निर्यात ४६ प्रतिशतले बढको छ भने चीनतर्फको निर्यात १७ दशमलव ४ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक र वित्तिय स्थितिका अनुसार, भदौसम्ममा कुल वस्तु आयात १ दशमलव २ प्रतिशतले घटेको छ । यो अवधिमा रु. २ खर्ब २९ अर्ब ५० करोडको वस्तु आयात भएको छ ।
निर्यात दर बढेर आयात दर घट्दा पनि वैदेशिक व्यापारमा ठूलो असन्तुलन कायमै छ । आर्थिक वर्षको पहिलो दुई महीनामा मात्रै देशले वैदेशिक व्यापारमा रु. २ खर्ब ११ अर्ब घाटा बेहोरेको छ । यद्यपि, वस्तु व्यापार घाटा ३ दशमलव १ प्रतिशतले घटेको छ ।
यो अवधिमा पेट्रोलियम पदार्थ मात्रै रु. २८ अर्ब ९० करोडको आयात भएको छ । यो अघिल्लो वर्षको भन्दा कुल वस्तु आयातको १२ दशमलव ६ प्रतिशत हो । सवारी साधन तथा यसका पाटपूर्जामा रु. २१ अर्ब ५८ करोड बाहिरिएको छ । यो कुल आयातको ९ दशमलव ४ प्रतिशत हो ।
तयारी कपडा मात्रै रु. ७ अर्ब २ करोडको आयात भएको छ । कपडाको आयात गत वर्षभन्दा झण्डै ७७ प्रतिशतले बढेको छ । दशैंतिहारका लागि तयारी कपडाको आयात बढेको हो ।