समाचारमंगलबार, ५ कार्तिक , २०७६

उपनिर्वाचनको उम्मेद्वार कांग्रेसले ७ कात्तिकमा टुंग्याउने

हिमालखबर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४ मंसीरमा हुने उपनिर्वाचनको उम्मेद्वार ७ कात्तिकमा टुंगो लगाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले ७ कात्तिकमा उपनिर्वाचनको उम्मेद्वार टुंग्याउनेगरी बैठक बोलाएको छ ।

बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ । बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो ।

संवैधानिक आयोगमा गरिने नियुक्तीलाई पार्टी गत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा सभापति देउवालाई अडान लिन सुझाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए ।

बैठकले अनौपचारिक छलफल गरी सहमति पश्चात मात्र औपचारिक बैठक राख्दा राम्रो हुने सल्लाह दिएको छ ।

बैठकमा सभापति देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा समेत जानकारी दिए ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु रमेश लेखक, डा मीनेन्द्र रिजाल लगायत उपस्थित थिए ।

प्रतिकृया दिनुहोस