समाचार मंगलबार, कात्तिक ५, २०७६

महराको बयानः ती महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ

हिमालखबर

बलात्कार प्रयासको आरोप लगाउने संसद सचिवालयकी महिला कर्मचारीको कोठामा आफू नगएको निवर्तमान सभामुख कृष्णबहादुर महराले बयान दिएका छन् ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार बिहान ११ बजेदेखि साँझ पौने ६ बजेसम्म चलेको बयानमा महराले ती महिलाको कोठामा नगएको बताए ।

सीसी क्यामेरा फुटेजमा ती महिलाको कोठा छेऊमा सभामुखको गाडी देखिएको भन्ने प्रश्नमा महराले तीनकुने क्षेत्रमा गएको तर, ती महिलाको कोठामा नभएको बयान दिए ।

प्रहरीले आइतबार थपिएको पाँच दिनको म्यादभित्र अनुसन्धान सक्ने तयारी गरेको छ । “धेरै अनुसन्धान सकिएको छ । दुई दिनमा सकिने अनुमान गरिएको बयान एकै दिनमा सकियो”, स्रोतले भन्यो ।

महराको तर्फबाट मुद्दा हेरिरहेका वकिलले भने आजभोलि नै सरकारी वकिलले मुद्दा दर्ता गर्ने संभावना रहेको बताए । १७ असोजमा ती महिलाले आफूमाथि बलात्कारको प्रयास भएको जाहेरी दिए पछि १९ असोजमा महरा पक्राउ परेका थिए ।

१२ असोज राति ती महिलाले बलात्कार प्रयासको आरोप लगाए पछि १४ असोजमै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

याे पनि

गल्ती गर्ने महरा, सजाय पाउने शिवमाया !

अब नेकपाले सभामुखमा उम्मेद्वारी दिन पाउँदैन

महराको सांसद पद रिक्त नहुने

 

प्रतिकृया दिनुहोस