टिप्पणीमंगलबार, ५ कार्तिक , २०७६

तुइन विस्थापनकाे चार वर्ष, १२४ झाेलुङ्गे पुल

हिमालखबर

तुइन विस्थापन घोषणाको चार वर्षमा कुल १२४ वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन्। १८ वटा निर्माणाधीन छन्।

गजेन्द्रप्रसाद थपलिया

३८औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले २५ असोज २०७२ मा कार्यभार सम्हालेलगत्तै दुई वर्षभित्र देशभरिका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेका थिए । यो घोषणापछि कहाँ कति संख्यामा तुइन छन् भनेर तथ्याङ्क सङ्कलन शुरू भयो ।

तुइनको वास्तविक तथ्याङ्क निकाल्ने जिम्मेवारी थियो, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको सस्पेन्सन ब्रिज डिभिजनको ।

डिभिजनका तत्कालीन प्रमुख इन्जिनियर कुमार थापाले तत्कालै सबै जिल्ला प्राविधिक कार्यालयलाई तथ्याङ्क पठाउन ताकेता गरे ।

केही महीनाको पुनरावलोकनपछि ३७ जिल्लामा १७१ तुइन रहेको पुष्टि भयो ।

१७ माघ २०७२ मा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको अध्यक्षतामा सम्बद्ध निकायका प्रमुख सहितको बैठकले तुइन भएका ठाउँहरूमा झोलुङ्गे पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७३ असारसम्म तयार पार्ने र २०७४ असारसम्ममा निर्माण गरिसक्ने निर्णय गरेको थियो ।

धादिङकाे सिद्धलेक-६ र गजुरी-२ जाेड्ने त्रिशूली नदीमाथि बनेकाे झाेलुङ्गे पुल बन्नु अघिकाे तुइन ।

प्रम ओलीले करीब १० महीनापछि २० साउन २०७३ मा पद छाड्दा ६ वटा झोलुङ्गे पुल बनिसकेका र ५१ वटा निर्माणाधीन थिए । यस्तै, ४१ वटाको डीपीआर बनेर ठेक्का सम्झौता भएको र ४५ वटाको ठेक्का लगाउने तयारी थियो ।

तुइन विस्थापन गर्ने निर्णयको ठीक दुई वर्षमा ४९ वटा झोलुङ्गे पुल निर्माण भएका थिए भने ६७ वटा निर्माणाधीन थिए । यस्तै, ७ वटा नेपाल–भारतको सिमाना नदीमा भएकाले भारत सरकारको सहमति नपाउँदा काम शुरू हुनसकेको थिएन भने ४८ वटा विविध कारणले झोलुङ्गे पुल बनाउन असम्भव देखिएको थियो ।

धादिङकाे सिद्धलेक-६ र गजुरी-२ जाेड्ने त्रिशूली नदीमाथि बनेकाे झाेलुङ्गे पुल ।

यी ठाउँमा झोलुङ्गे पुल बनाउन सम्भाव्यता नदेखिनुका विभिन्न कारण छन् । प्राविधिक कारणले ठाउँ योग्य नभएको, आधा घण्टाको दूरीमा अर्को झोलुङ्गे पुल वा पक्की पुल भएको, व्यक्तिगत प्रयोजनको तुइन भएको, पक्की पुल बन्ने काम अगाडि बढेको र द्रुत मार्ग निर्माण हुने ठाउँ भएका आदि हुन् । 

तुइन विस्थापन घोषणाको चार वर्षमा कुल १२४ वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । १८ वटा निर्माणाधीन छन् । 

झोलुङ्गे पुल निर्माणमा १२० मिटरभन्दा छोटोलाई छोटोतरी र त्यसभन्दा लामोलाई लामोतरी भनिन्छ । छोटोतरी पुल विभिन्न जिल्ला विकास समितिले बनाउँदै आएका छन् भने लामोतरी निर्माणको जिम्मा सस्पेन्सन ब्रिज डिभिजनलाई हुन्छ । तुइन विस्थापनपछि निर्माण भएका १२४ वटा झोलुङ्गे पुलमध्ये लामोतरी ५९ वटा र छोटोतरीका ६५ वटा छन् ।

तुइन विस्थापन योजना आर्थिक हिसाबले थोरै बजेटमा सम्पन्न हुने भएकाले सानो लाग्न सक्छ । तर, यसले दैनन्दिन जीविकोपार्जन र व्यापार–व्यवसायमा हिंड्नुपर्ने स्थानीयका लागि ठूलो प्रभाव पारेको छ ।

तुइनबाट जोखिम मोल्दै खोला, नदी तर्नुपर्ने बाध्यतामा रहेका ग्रामीण भेकका जनतालाई झोलुङ्गे पुलले धेरै सहज भएको छ ।

इन्जिनियरिङको विद्यार्थीको हैसियतले मैले तुइन विस्थापनको अभियानलाई सरकार, प्राविधिक र निर्माण व्यवसायी लगायत सरोकारवाला सबै पक्षका लागि ‘पाइलट प्रोजेक्ट’ कै रूपमा हेरेको थिएँ । तर, यसमा गम्भीरता देखिएन ।

यसको दृष्टान्त, तुइनको शुरूको तथ्याङ्क १७१ वटाबाट बढेर अहिले १९८ वटा पुगेको प्रतिवेदन आएको छ । सबैले सहजै देख्न सक्ने यति सानो संख्या पनि यकिन नहुनु अपरिपक्व काम हो ।

हामीकहाँ सबैजसो दलका नेताले समृद्धिको आकर्षक भाषण गरे पनि कार्यान्वयनमा तदारुकता देखाउने गरेका छैनन् । राम्रै भए पनि अघिल्लो सरकारका काम पछिल्लो सरकारले निरन्तरता दिन नचाहने मनोविज्ञान, कर्मचारीले नेतालाई खुशी पार्ने गरिका कर्मचारीका काम आदि प्रवृत्तिका कारण हामीकहाँ विकासको गति अड्किने गरेका छन् ।

मुलुकमा दृढ इच्छाशक्ति भएको दूरदर्शी नेतृत्व र असल कर्मचारीको मात्र खाँचो छैन, जनताको सहयोग पनि अपेक्षित छ । समृद्धिको यात्रामा प्रष्ट दृष्टिकोण, विज्ञता, स्रोत–साधन र कार्यान्वयनलाई ध्यान दिन जरूरी छ । 

(इन्जिनियर थपलिया प्रधानमन्त्रीका पूर्व वरिष्ठ आर्थिक विकास विज्ञ तथा तुइन विस्थापन अभियानका सहयोगी हुन् ।)

प्रतिकृया दिनुहोस