फोरम लोकतान्त्रिक उपप्रधानमन्त्री पाए मात्रै सरकारमा सहभागी हुने
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले सम्मानजनक सहभागिता हुने स्थितिमा मात्रै पार्टी सरकारमा सहभागी हुने जनाएको छ ।
पार्टी कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा बोल्ने सदस्यले विगतको सरकारमा पार्टीले उपप्रधानमन्त्री सहित दुई मन्त्रालय पाएकाले त्यसभन्दा तल्लो तहमा रहेर सरकारमा सहभागी हुन नहुने धारणा राखेको महामन्त्री भारतेन्द्र मल्लिकले जानकारी दिए ।
सरकारका पक्षमा मतदान गरे पनि गुण र दोषका आधारमा समर्थन वा विरोध गरिने महामन्त्री मल्लिकले बताए ।
विगतमा आफ्नो पार्टीसँग गरिएको आठबुँदे सहमतिअनुरुप सीमाङ्कन लगायत विवादित विषय टुङ्ग्याउनुपर्नेमा पार्टीले जोड दिएको छ । एकतीस सदस्यीय समितिमा नौ जना बोल्न बाँकी रहेकाले शुक्रबार पनि बैठक बस्ने गरी आजको बैठक स्थगन भएको छ ।