यूएनएफपीएका कार्यकारी निर्देशक कनेम नेपालमा, प्रधानमन्त्रीसहित उच्च अधिकारीसँग भेट्दै
संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्र संघका उप–महासचिव डा. नतालिया कनेम नेपाल आइपुगेकी छन् ।
दुई वर्षअघि कार्यकारी निर्देशक पदमा नियुक्त कनेम पहिलो औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेकी हुन् ।
उनले प्रधानमन्त्री केपी ओली, पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायतसँग भेट्ने कार्यक्रम रहेको यूएनएफपीएको ललितपुरस्थित कार्यालयले जनाएको छ ।
१९९४ मा भएको जनसंख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन –आइसीपीडी) दूरदृष्टि र सन् २०३० सम्म यो सम्मेलनको कार्ययोजनाको कार्यान्वयन गर्न नेपालले गरेको प्रतिबद्धता र हालसम्म नेपालले गरेका महत्वपूर्ण उपलब्धीहरुसँग साक्षात्कार हुनका लागि नतालियासहितको टोलीले उच्चस्तरीय भ्रमणमा आएको हो ।
भ्रमणका क्रममा उनले आगामी १२ देखि १४ नोभेम्बरमा नैरोबीमा आयोजना हुन लागेको आइसीपीडीको २५औँ शिखर सम्मेलमा प्रजनन् अधिकार सुनिश्चिततामा नेतृत्वदायी भूमिकासहित सहभागी हुन नेपाल सरकारलाई आमन्त्रण गर्ने छिन् ।
सन् १९९४ मा इजिप्टको राजधानी कायरोमा सम्पन्न आइसीपीडी सम्मेलनपछि तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसुती गराउने लगायत यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुको पहुँचमा बृद्धि भएको बताउँदै उनले चुनौतीका बाबजुत नेपालले महत्वपूर्ण काम गरेको बताएकी छन् ।
यस्तै, उनले गत वर्ष नेपाल सरकारले जारी गरेको सुरक्षित मातृत्व र प्रजनन् अधिकार सम्बन्धी ऐन न्यायिक व्यवस्थाको उल्लेखनीय अंश भएको बताएकी छन् ।
तर, नेपालले अहिलेसम्म प्रजनन् अधिकार सम्बन्धी नियमावली जारी गर्न नसकेकाले ऐन कार्यान्वयनमा आउन सकेको छैन ।