बस दुर्घटनामा एकको मृत्यु, २६ घाइते
चितवनको चन्डिभञ्ज्याङ गाविस–६ कालीखोलामा गएराति रात्रिबस खस्दा एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
घटनास्थल पुगेका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौबाट मलङ्गवातर्फ जाँदै गरेको ना ४ ख ५४४२ नंको रात्रिबस राति १२:४० बजे सडकबाट करिब १०० मिटर तल खोलामा खसेको हो ।
बसभित्र सिटमा च्यापिएर सिरहाको लक्ष्मीपुर पटाहाका ३३ वर्षीय धर्मराज मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
घाइतेमध्ये १९ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने पाँचको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ । अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।
बस त्रिशूली नदीमा पुग्नुभन्दा २० मिटरमाथि खोचमा अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । राति १:१५ बजेबाट नेपाल प्रहरी र जनपद प्रहरीले उद्धार थालेका थिए ।
बस खसेको ठाउँमा डोरीको सहायताले झरेर उद्धार गरिएको हो । यो घटनास्थल मुग्लिङबाट तीन किलोमिटर नारायणगणतर्फ पर्दछ ।
रासस