समाचारआइतबार, ३ कार्तिक , २०७६

बयानका लागि महरा सरकारी वकिलको कार्यालयमा

हिमालखबर

संसद सचिवालयकी एक महिला कर्मचारीलाई जबरजस्ती करणी प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा लगिएको छ । प्रहरीले महरालाई बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा लगेको हो ।

दुई पटक लगिए पनि स्वास्थ्यका कारण आफू बयान दिन नसक्ने बताएपछि बयान भएको थिएन । एक सरकारी वकिलले भने, "उहाँलाई आज पनि ल्याइएको छ, अनौपचारिक कुराकानी भइरहेको छ, औपचारिक बयान हुन्छ हुँदैन अहिल्यै भन्न सकिदैन ।" यसअघि पनि दुई पटक महराले बयान दिन मानेका थिएनन् ।

सरकारी वकिलको कार्यालयबाट उनलाई अदालत पनि उपस्थित गराईंदैछ । उनको स्वास्थ्यका कारण भन्दै यसअघि औपचारिक बयान लिन बाँकी रहेकाले थुनामै राखेर अनुसन्धानका लागि म्याद थप गर्न अदालत लैजान लागिएको हो ।

जिल्ला अदालत काठमाडौंले २८ असोजमा जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । त्यो समय सकिएकाले आज फेरि अदालत उपस्थित गराउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ । महरा पक्राउ परेको १५ दिन भइसके पनि उनीसँग औपचारिक बयान नभएकाले अनुसन्धान बाँकी रहेको प्रहरीको भनाइ छ ।

एक महिला कर्मचारीले १२ असोजमा महराले आफूलाई जबरजस्ती करणी गरेको बताएको घटना भोलिपल्ट सार्वजनिक भएको थियो । ती महिलाले महानगरीय प्रहरी प्रहरी वृत्त बानेश्वरमा १७ असोजमा जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकी छिन् ।

प्रतिकृया दिनुहोस