समाचारआइतबार, ३ कार्तिक , २०७६

जापानी सम्राटको राज्याभिषेक समारोहमा राष्ट्रपति भण्डारी सहभागी हुने

हिमालखबर

म्यान्मारको राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राटको राज्याभिषेक समारोहमा सहभागी हुने भएकी छन्।

५ कात्तिकमा हुने राज्याभिषेक कार्यक्रम सकेर राष्ट्रपति भण्डारी ६ कात्तिकमा स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

म्यान्मा गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी २९ असोजमा म्यान्मा पुगेका हुन् ।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो । राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेट गरेका छन् । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले नेपितमा जेम्स म्युजियम(रत्न पत्थर आदि सङ्ग्रहालय)को अवलोकन गरेको छ । पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदिको शहर बगानको भ्रमण, पुरानो राजधानी यङ्गोनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन पनि भयो ।

यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका विभिन्न मुद्राका ३० मूर्ति पनि प्रदान गर्‍यो जुन लुम्बिनी विकास कोषको लुम्बिनी सङ्ग्रहालयमा राखिने छ ।

प्रतिकृया दिनुहोस