समाचारशनिबार, २ कार्तिक , २०७६

राष्ट्रपति भण्डारी स्वागत समारोहमा सरिक

रासस

राष्ट्रपति विद्यादेवी भण्डारी यङ्गोनस्थित नेपाली राजदूतावासले शनिबार साँझ आयोजना गरेको स्वागत समारोह र रात्रिभोजमा सरीक भएकी छन् ।

फाइल फाेटाे

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनस्तर रहेको म्यान्मा र नेपालबीच प्रगाढ सम्बन्ध र बलियो कडी रहेको बताउँदै नेपाल भ्रमण वर्ष सफल पार्न आग्रह गरे ।

उनले नेपालको विकासमा सहयोग पुर्‍याउन र लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । उनले नेपाल र म्यान्मा साझा मूल्यमान्यता र अन्तर्राष्ट्रिय दृष्टिकोणबाट अघि बढ्ने पनि बताए ।

म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासले ३९ वर्षपछि राष्ट्राध्यक्ष तहमा भएको नेपालको म्यान्मा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ बढाउने विश्वास व्यक्त गर्दैै गौतम बुद्धका सहिष्णुता, करुणा, सद्भाव जस्ता उपदेशले दुई देशलाई बाँधिरहने बताए ।

नेपालका गोर्खाली सैनिकले बर्माको स्वतन्त्रताका लागि लडेको उल्लेख गर्दै उनले बर्माले पनि नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन जनाएको प्रसङ्ग उल्लेख गरे ।

गत वर्ष म्यान्माका राष्ट्रपति विन मिन्तले पनि नेपाल म्यान्मा दौत्य सम्बन्धपछि ५८ वर्षको अन्तरालमा नेपाल भ्रमण गरेको र स्टेट काउन्सिलर आङ सान सु चीले सरकार प्रमुखका हैसियतले ४३ वर्षको अन्तरालमा नेपाल भ्रमण गरेको बताउँदै राजदूत उदासले यसबाट पर्यटन, व्यापार, लागनी क्षेत्रमा सहयोगका क्षेत्रबारे समझदारी भएको उल्लेख गरे ।

कार्यक्रममा नेपालीभाषी समुदायले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्रमन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो ।

कार्यक्रममा नेपालीभाषी समुदाय तथा विभिन्न कूटनीतिक नियोगका पदाधिकारीको सहभागिता थियो । 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार म्यान्माको यङ्गोनास्थित बोग्योक आङ सन सङ्ग्रहालयको अवलाेकन भ्रमण गरेकी थिइन्। उनले त्यहाँ आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस