समाचारशनिबार, २ कार्तिक , २०७६

बारामा फौजी किराको आतंक, करीब ७० प्रतिशत धानबालीमा नोक्सानी

हिमालखबर

–श्याम गुप्ता, बारा

बारामा बिगत केही दिनदेखि फौजी किराले आतंक मच्चाएको छ । लाखौंको संख्यामा रहेका फौजी किराले रातारात धानबाली सखाप पारेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

फौजी किराको प्रकोपका कारण जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– १५, १६, १७, १८ कलैया उपमहानगरपालिका– २४, २६ र २७ कोल्वी नगरपालिका, फेंटा गाउँपालिका, पचरौता नगरपालिका, सुवर्ण तथा प्रसौनी गाउँपालिका, निजगढ नगरपालिका, सिम्रौनगढ नगरपालिका लगायत जिल्लाभरि धान उत्पादक किसानहरू चिन्तित बनेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकामा करीब एक सय ३५ बिघा, कलैया उपमहानगरपालिकामा एक सय ४८ बिघा सात कट्ठा र रामनगर, कोल्वी नगरपालिका, फेंटा गाउँपालिका, निजगढ नगरपालिका, सिम्रौनगढ नगरपालिकामा गरी करीब चार सय बिघा जग्गामा किसानले लगाएको धानबाली फौजी किराले क्षति पुर्‍याएको छ ।

स्थानीय कृषक राधिका अधिकारीको तयार हुन थालेको धानको बाला फौजी किराले काटेर नष्ट गरेको छ । उनको एक बिघामा लगाइएको साह्रो धानमा यसरी किराले क्षति पुर्‍याएको उनले बताइन् ।

धान वाली सखाप हुँदा यहाँका किसानमा पीडामाथि पीडा थपिदिएको छ फौजी किराले । किसानहरू अत्यधिक पीडित बन्दै गएका छन् । मुरी भित्र्याउने बेलामा यसरी फौजी किराले एक्कासि धान वाली सखाप पारेपछि किसानको लगानी समेत डुबेको छ ।

राधिकाको मात्रै होइन, अन्य कृषकहरूको पनि यस्तै बेहाल छ । सोही ठाउँकी कमला नेउपाने, सान्झा अधिकारी, रेश्मा अधिकारी, रोशन अधिकारीको समेत अवस्था त्यस्तै छ । किसानहरू पुर्पुरोमा हात लगाएर बसेका छन् ।

बारामा मात्रै करीब ७० प्रतिशत किसानहरूको बाली नष्ट भएको किसानहरू बताउँछन् । फौजी किराले अत्यधिक नोक्सान गरेको छ । धान भित्र्याउने बेलामा फौजी किराले यसरी धानबाली नोक्सान गरिदिंदा आधामा धान समेत काट्न ज्यामीहरू नमानिरहेको अवस्था रहेको कृषकहरू बताउछन् ।

दुःख गरेर लगाएको धानबाली फौजी किराले नष्ट गरिरहेकाले किसानहरूले दुधेबाली समय नपुग्दै काटिरहेको स्थानीय कृषक कमला नेउपानेले बताइन् । आफूले किसानहरूलाई तयारी अवस्थामा रहेको धान तत्काल काटेर खेतमा नछोडी त्यसलाई सुरक्षित स्थानमा राखी तत्काल घरमै भित्र्याउन सुझाव समेत दिरहेको उनले बताइन् ।

फौजी किरालाई नियन्त्रणमा लिन चुनौतीपूर्ण रहेको सुनाउँदै यसबाट हुने नोक्सानीलाई बचाउने प्रयास किसान आफैले गर्नुपर्ने बताइन् । भित्र्याउन तयारी अवस्थाको धानबाली फौजी किराले नष्ट गरेकाले त्यसको क्षतिपूर्ति राज्यले दिनुपर्ने किसानले माग समेत गरेका छन् ।

अहिलेको यो प्रकोप आउनुपूर्व नै सम्बन्धित निकायले समयमै ध्यान दिएर किसानहरूलाई बेला बेलामा कृषि सम्बन्धी तालीम र सीप दिएको भए यो अवस्था आउने थिएन । कृषिका लागि परिचित बारा जिल्लाका किसानहरूलाई अबको समयमा सम्बधित निकायले समय समयमा विभिन्न तालीम, सल्लाह, सुझाव दिन नितान्त आवश्यक छ ।

प्रतिकृया दिनुहोस