अन्तर्वार्ता/विचारशनिबार, २ कार्तिक , २०७६

बीबीसीकाे 'उत्कृष्ट १००' मा परेकी बाेनिता भन्छिन्: नेपालमा पाेषिलाे खाद्यान्न नचिन्ने समस्या छ

हिमालखबर

बीबीसीको ‘विश्वका प्रेरक र प्रभावशाली १०० महिला’ को सूचीमा परेकी पोषण सचेतना अभिवृद्घिको क्षेत्रमा कार्यरत काठमाडौंकी बोनिता शर्मा (२८) भन्छिन्, “हाम्रा गाउँ–शहरमा खान नपाएर मात्र होइन धेरै खाएर हुने कुपोषणको समस्या पनि छ।”

तपाईंलाई पोषण सचेतनाको क्षेत्रमा लाग्न केले प्रेरित गर्‌यो ?

जनस्वास्थ्य र पोषण विषयमा स्नातकोत्तर अध्ययन गर्ने क्रममा काठमाडौंको काँठ क्षेत्र र ग्रामीण इलाकामा जाँदा पोषणमा पहुँच नभएका महिला, बालबालिका र किशोरीहरू देखें ।

२०७२ सालमा भूकम्प आएताका ललितपुर लुभूकी एक महिलाले जन्माएका तिम्ल्याहा सन्तान मध्ये काखको एउटा नानीमा कुपोषणका लक्षण देखिएका थिए । आमालाई भने त्यसबारेमा थाहै थिएन । यिनै कारणले मलाई यस क्षेत्रमा आउन प्रेरित गर्‍यो ।

हाम्रोमा पोषण सम्बन्धी समस्या चाहिं के हो ?

हाम्रा गाउँघरमा पोषिला खाद्यवस्तु नचिन्ने ठूलो समस्या रहेछ । हिमाली र पहाडी क्षेत्रमा मकै र कोदो जस्ता स्थानीय उत्पादनलाई हेयभावले हेरिंदो रहेछ ।

खाना भन्नासाथ तराईबाट लगिएको चामललाई मात्र बुझिन्छ ।

जबकि ईस्कुस, हलुवाबेत, निगुरो आदि खोल्साखाल्सीमा विना मिहिनेत उत्पादन हुने खाद्यवस्तुमा पनि प्रशस्त पोषक तत्व पाइन्छन् ।

हाम्रो पोषण नीति कस्तो छ ?

सरकारले बनाएको पोषण नीति महिला र बालबालिका केन्द्रित छ । नीतिगत रुपले गाउँघरमा रहेका किशोरीहरूलाई पनि समेट्नु आवश्यक छ ।

राम्रा पक्ष पनि धेरै छन्, गर्भवती महिलालाई निःशुल्क आइरन चक्की वितरण गरिएको छ । कतिपय स्वास्थ्य संस्थामा अण्डा र दूध पनि वितरण गरिन्छ ।

पोषण व्यवस्थापनका चुनौती के हुन् ?

पोषणसँगै सरसफाइ, महिलाको उद्यमशीलता, शिक्षा र चेतनामा अभिवृद्धि गर्नु जरुरी छ । ठूलो चुनौती त बुझाइ र व्यवहारमा परिवर्तन ल्याउन नसक्नु नै हो ।

तपाईंको संस्थाले अब के योजना बनाएको छ ?

हामीले गरेको कार्य अन्तर्राष्ट्रिय रुपमै अनुमोदन भएपछि निश्चय नै दायित्व बढेको छ । यसले स्थानीय सरकारहरूसँग मिलेर हाम्रा प्रयासहरूलाई निरन्तरता दिन सजिलो हुनेछ ।

हामी विभिन्न तहका सरकारहरू, स्थानीय समुदाय र अरु संघसंस्थासँग अब हातेमालो गर्नेछौं ।

प्रतिकृया दिनुहोस