हेटौंडा–काठमाडौं सुरुङमार्ग प्रदेश सरकारले नै बनाउने
हेटौंडा–काठमाडौं सुरुङ मार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौंडा काठमाडौंलाई सुरुङमार्ग मार्फत जोड्ने तयारी भइरहेको जनाएको छ ।
सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन ।
तर, यस वर्ष भने कानूनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैँले केन्द्र र स्थानीय तह सँग समेत सहकार्य गर्नेगरी काम शुरु गरेको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार आगामी तीन महीनाभित्र बोलपत्रसमेत आह्वान गर्ने तयारी भइसकेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने परियोजना निर्माणका लागि रु १२ अर्बसम्म लगानी लाग्ने अनुमान गरिएको छ ।
प्रदेशको गौरवको आयोजना समेत भएकाले सरकारको यही कार्यकालमा सम्पन्न हुनेगरी काम थालिने गर्ने तयारी गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।
प्रदेश नं ३ को राजधानी हेटौंडा र देशकै राजधानी काठमाडौंलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको मुख्यमन्त्री पौडेलको भनाइ छ ।