‘मिस्टर बीन’का छोरा गोर्खाली सेनामा
विश्व चलचित्रजगतमा ‘मिस्टर बीन’ उपनामले चर्चित हास्यकलाकार रोवान एटकिन्सनका छोरा बेन एटकिन्सन बेलायती गोर्खा सैनिकमा भर्ती भएका छन् ।
गोर्खाली सेनामा भर्नाको प्रक्रिया पूरा गर्न बेनले तीन महीनाजति नेपालमा बिताएका थिए ।
२६ वर्षीय बेनले नेपालमा १० साताजति भर्ना प्रक्रिया, नेपाली संस्कृति र भाषाको अध्ययन गरेको पनि बताइएको छ । गोर्खाली सेनाका लागि नेपाली संस्कृति पनि जान्न जरुरी भएको भन्दै उनी नेपाल आएको बताइएको छ ।
बेलायती पत्रिका डेली मेलका अनुसार, बुबा रोवानजस्तै देखिने बेन स्थानीय युवतीहरू रिझाउन पनि अभिलाषी देखिन्थे ।
गोर्खा ब्रिगेड एशोसिएसनको न्यूजलेटर उद्धृत गर्दै पत्रिकाले बेनले अचम्मै पार्ने हिसाबले नेपाली भाषा छिट्टै सिकेको बताएको छ ।
‘सायद उनले यसअघि नै अरेबिक र स्पेनिश भाषा सिकेकाले पनि हुनुपर्छ, नेपाली बोलिचालिका भाषा उनले छिट्टै टिपे”, पत्रिकाले लेखेको छ ।
भाषासँगै बेनले नेपाली लोक गीत र लोक नृत्य पनि सिकेको बताइएको छ । त्यसमा पनि ‘उड्यो, बस्यो’ स्टेपका लोकनृत्यमा उनले चाँडै पछ्याएका थिए ।
बेन रोवान र सुनेत्रा शास्त्रीका छोरा हुन् । २४ वर्ष साथै रहेका यी दम्पतीको चार वर्ष अघि सम्बन्धविच्छेद भइसकेको छ ।