पोखरा उच्च अदालतका न्यायाधीश शाही पदबाट बर्खास्त
न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई पदबाट बर्खास्त गरेको छ ।
गोर्खा ब्रुअरी कम्पनीको कर विवादसम्बन्धी मुद्दामा कानून मिचेर अन्तरिम आदेश दिएको भन्दै न्यायपरिषद्ले उनलाई बर्खास्त गरेको हो ।
न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले क्षेत्राधिकार बाहिरको मुद्दामा अन्तरिम आदेश दिएको भन्दै उच्च अदालत पोखराका न्यायाधीश त्रय जीवनहरि अधिकारी, रामचन्द्र यादव र शाहीमाथि छानविन गर्न परिषद्लाई निर्देशन दिएका थिए ।
न्यायपरिषद्ले १३ साउनमा सर्वोच्च न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो ।
निजी कम्पनीको अन्तःशुल्क विवाद मुद्दामा अन्तरिम आदेश दिँदा क्षेत्राधिकारबाहिर गएको भन्दै प्रधानन्यायाधीश जबराले परिषद्लाई छानविन गर्न अन्तरिम आदेश दिएका थिए ।
अनुसन्धानकै क्रममा न्यायाधीशद्वय अधिकारी र यादवले यसअघि प्रधानन्यायाधीश जबरालाई राजीनामा बुझाएका थिए ।
दुवैजनाको राजीनामा स्वीकृत भएसँगै परिषद्को बैठकले उनीहरूको उजुरी तामेलीमा राखेको थियो । त्यस्तै न्यायाधीश शाहीलाई भने परिषद्ले लिखित स्पष्टीकरण मागेको थियो । उनको लिखित स्पष्टीकरणपछि बसेको न्यायपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।