एमबीबीएस र बीडीएस तहमा अध्ययन शुल्क बढ्यो
चिकित्सा शिक्षा आयोगको ३० असोज र १ कात्तिकमा बसेको बैठकले चिकित्सा शास्त्र अध्ययनका लागि आर्थिक वर्ष २०७६\७७ का लागि एमबीबीएस र बीडीएस (दन्त रोग) तहको शुल्क बढाउने निर्णय गरेको छ ।
आयोगद्वारा एक कात्तिकमा जारी विज्ञप्ति अनुसार उपत्यका भित्रका मेडिकल कलेजहरूमा एमबीबीएस तहको अध्ययन शुल्क रु. ४० लाख २३ हजार २५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ तोकिएको छ । यस्तै, उपत्यकाभित्र र बाहिरका मेडिकल कलेजहरूमा बीडीएस तह अध्ययन शुल्क रु. २० लाख १९ हजार ५८० तोकिएको छ ।
यसअघि २८ असोज २०७५ को मन्त्रिपरिषद्को निर्णय अनुसार काठमाडौंभित्र एमबीबीएस तह अध्ययन गर्न ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तोकिएको थियो । बीडीएस तह अध्ययनका लागि काठमाडौं उपत्यकाभित्र र बाहिर १९ लाख ३२ हजार ६१२ तोकिएको थियो ।
चिकित्सा शिक्षा आयोगको पछिल्लो निर्णय अनुसार उपत्यका भित्रका मेडिकल कलेजमा एमबीबीएस तह अध्ययन गर्न रु. एक लाख ७३ हजार २५० र बाहिरका मेडिकल कलेजमा सोही तहमा अध्ययन गर्न रु. एक लाख ९१ हजार २५ शुल्क बढेको छ । यस्तै, बीडीएस तहमा रु. ८६ हजार ९६८ शुल्क बढेको छ ।
आयोगले नेपाल राष्ट्र ब्यांकको २०७५ को मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतका आधारमा बढेको भन्दै त्यसैका आधारमा एमबीबीएस र बीडीएस तहको शुल्क बढाएको दाबी गरेको छ ।
पोखरास्थित गण्डकी मेडिकल कलेज र भरतपुरस्थित चितवन मेडिकल कलेजका विद्यार्थीहरू कलेजहरूले बढी शुल्क असुलेर कालो बजारी गरेको भन्दै आन्दोलनमा उत्रिरहेका बेला आयोगले पछिल्लो समय शुल्क वृद्धिको निर्णय गरेको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति र नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त रकम असुलेर कालोबजारी गरेको ठहर गरेर शिक्षा मन्त्रालय र विश्वविद्यालयलाई आवश्यक कारवाही गर्न निर्देशन दिएका थिए ।
तर, विद्यार्थीबाट बढी रकम असुल्ने कलेजहरूमाथि कारवाहीको प्रक्रिया शुरु नै भएको छैन ।