टिप्पणीसोमबार, ४ कार्तिक , २०७६

छत्रे शैलीमा अनन्तलिङ्गेश्वर

हिमालखबर

–गाैरीबहादुर कार्की

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको गुम्बज शैलीको अनन्तलिङ्गेश्वर मन्दिर १९९० को भूकम्प अघिकै जस्तो नेपाली परम्परागत छत्रे शैलीमा पुनर्निर्माण गरिएको छ।

गाैरीबहादुर कार्की

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ मा पर्ने अनन्तलिङ्गेश्वर मन्दिर शैव सम्प्रदायको देवस्थल हो । यो मन्दिरको बारेमा स्कन्दपुराण अन्तर्गत हिमवत्खण्डको नेपाल महात्म्यमा उल्लेख गरिएको पाइन्छ । यसैले अनन्तलिङ्गेश्वर मन्दिर अनादिकालदेखि नै रहेको मानिन्छ ।

मन्दिरको नाम कसरी रहन पुग्यो भन्ने तथ्य रोचक छ । पहिले कैयौं ऋषिले तपस्या गरेको थलो हो, यो । शिवलिङ्गको फेद पत्ता लगाउन नसकेकाले यसको नाम अनन्तलिङ्गेश्वर रहेको मानिन्छ । नेपाल महात्म्यमा उल्लिखित चतुषष्ठी ज्योतिर्लिङ्गमध्ये यो स्वयम्भू लिङ्ग हो ।

सातौं शताब्दीमा वि.सं. ७१३ तिर नेपाल मण्डलका राजा नरेन्द्रदेवले यो मन्दिरको जीर्णोद्धार गरेका थिए । पहिलेको सनदपत्र लोप भएकाले उनले मन्दिरमा शिलालेख पनि राख्न लगाए । सो शिलापत्र सर्वप्रथम इतिहास संशोधन मण्डलले अभिलेख संग्रह भाग–१ मा प्रकाशन गरेको हो । त्यसपछि धनवज्र वज्राचार्य र हरिराम जोशीले २०३० सालमा प्रकाशनमा ल्याए ।

साविक मन्दिर २०७२ को भूकम्प अगाडि ।

शिलालेखको आधारमा हंसगृह अर्थात् प्राचीन बस्ती र द्रङ्ग अर्थात् समृद्ध बस्ती त्यस क्षेत्रमा रहेको अनुमान गर्नेहरू पनि छन् । तर, हंसगृह हालको विशालनगरमा रहेको अंशुवर्माको कैलाशकुट भवनलाई मानिन्छ । अनन्तलिङ्गेश्वरको शिलालेखमा पनि कैलाश जस्तै, आँखालाई आनन्द दिने, संसारमा प्रसिद्ध कैलाशकुट भवन भनी उल्लेख छ ।

अनन्तलिङ्गेश्वर क्षेत्रमा त्यतिवेला हंसगृह नामक प्रसिद्ध बस्ती थियो । व्यापारको केन्द्रको रूपमा रहेकाले द्रङ्ग भनिन्थ्यो । ब्राह्मण सहित सबै जातिको बसोबास रहेको हंसगृह द्रङ्गभित्र लोकपाल स्वामीको मन्दिर थियो ।

शिलालेखबाट हंसगृहमा लोकपाल स्वामीको पूजाआजा, वार्षिक यात्रा आदि धुमधामसँग गरिन्थ्यो भन्ने देखिन्छ । यही लोकपाल स्वामीको मन्दिरलाई अनन्तलिङ्गेश्वर भनिंदो रहेछ । इतिहासकार धनवज्र वज्राचार्यका अनुसार, यी वैष्णव देवता हुन् ।

लिच्छवि राजाका पालामा वैष्णव धर्म नै राजधर्म थियो । पछि शैवधर्म राजधर्मको रूपमा रह्यो । राजा अंशुवर्मा, जिष्णुगुप्तहरूले जस्तै राजा नरेन्द्रदेवले पनि आफूलाई ‘पशुपतिभट्टारकपादानुध्यात’ भनी लेखाएका थिए । नरेन्द्रदेव शैव धर्मावलम्बी भए पनि वैष्णव, बौद्ध आदि धर्म र सम्प्रदायप्रति पनि राम्रो व्यवहार गर्थे ।

त्यतिवेला वैष्णव देवतालाई स्वामी भनिन्थ्यो । चाँगुनारायणलाई दोलाशिखर स्वामी, इचंगुनारायणलाई नारायण स्वामी र साँखुमा वामन स्वामी भनिने अन्य तथ्यहरूबाट देखिन्छ ।

लोकपाल स्वामी अर्थात् अनन्तलिङ्गेश्वरको प्रतिष्ठाको दिन कार्तिक शुक्ल द्वादशीमा उपत्यकामा चार नारायणको मेला लाग्छ । लिच्छवि राजा हरिदत्तले चार नारायणको प्रतिष्ठा गरेको भनिन्छ ।

पुनर्निर्मित नयाँ मन्दिर (बायाँ) र शिवालय दक्षिणको भगवतीको मूर्ति ।

इतिहास संशोधन मण्डलले उतारेको शिलापत्रको तल्लो भाग नबुझिने अवस्थामा थियो । अहिले त शिरोभागमा रहेको साँढेको चित्र बाहेक सबै कुरा खिइएर नबुझिने भइसकेको छ ।

लोकपाल स्वामीलाई इतिहासकारले वैष्णव देवता भने पनि अनन्तलिङ्गेश्वरको शिलालेखमा नारायण वा विष्णु भनी उल्लेख छैन । यो मन्दिरमा आजसम्म शिवलिङ्ग र महादेवको रूपमा पूजा–अर्चना गरिंदै आएको छ । कहिलेसम्म नारायणको पूजा गरियो र कहिलेबाट शिवको अर्चना गर्न थालियो भन्ने कुनै अभिलेख भेटिंदैन ।

त्यतिवेला देशलाई अष्ट दिक्पालबाट रक्षा गराउने गरेको पाइन्छ । शिलालेख अनुसार, शिव भगवानलाई पूर्वी उत्तर कुनाको क्षेत्रपालको रूपमा राखिएको छ । अनन्तलिङ्गेश्वरमा सतीदेवीको मिर्गौला पतन भएको मानिन्छ ।

१९९० सालको भूकम्पअघि अनन्तलिङ्गेश्वर मन्दिर नेपाली परम्परागत छत्रे शैलीको थियो । भूकम्पको क्षतिपछि गुम्बज शैलीमा बनाइयो । शुरूमा जस्तापाताको पाली राखिएको थियो, पछि झिंगटी राखियो । २०७२ सालको भूकम्पले मन्दिरमा फेरि क्षति पुर्यायो ।

भूकम्पको चार वर्षपछि पुरातत्व विभागले रु.१ करोड ६३ लाख २९ हजारको लागतमा परम्परागत छत्रे शैलीमै मन्दिर पुनर्निर्माण गरेको छ । तामाको छाना हालिएको मन्दिरको गएको २३ भदौमा उद्घाटन पनि भइसकेको छ । मूल मन्दिर अगाडि गणेशको सानो मन्दिर बनाइएको छ भने पाटीलाई पनि जीर्णोद्धार गरिएको छ ।

 

प्रतिकृया दिनुहोस