यसपालिको पलेँटीमा सुमन थापा
यो महीनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा सुमन थापाले गीत सुनाउने भएका छन् । उनी पेशाले नेत्ररोग विशेषज्ञ हुन् ।
थापा गितारमा औंला चलाउँदै गाउन औधी रुचाउँछन् । आफैँ गीत लेख्छन् र धुन पनि भर्छन् । ९० को दशकमा ‘बाइपास’ समूहसँग संलग्न रहेर आफ्नो सांगीतिक रहरलाई अगाडि बढाएका सुमन, हाल ‘ब्ल्यू फ्रेट’ नामको सांगीतिक समूहमा क्रियाशील छन् ।
प्रायः अंग्रेजी भाषामा गीत लेख्ने र गाउने सुमन थापा यसपालि पूरै नेपाली भाषाका गीत लिएर प्रस्तुत हुनेछन् । पलेँटीले उनलाई नयाँ सांगीतिक प्रयोग गर्ने सोचका साथ निम्त्याएको जानकारी गराएको छ ।
यसपालिको पलेँटीका निम्ति धेरैजसो गीत श्रवण मुकारुङले लेखेका छन् । प्रायः गीतमा सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहार्ने दृश्य सम्बन्धित विषय समेटिएको छ । सुमन थापाका निम्ति तयार पारिएका सबै नयाँ गीतहरूमा संगीतकार आभासले धुन भरेका छन् ।
पश्चिमी शैलीमा गाउने सुमन, ठेट नेपाली पारामा लेख्ने श्रवण र विभिन्न शैलीका सांगीतिक प्रयोग अपनाउने आभासको त्रिवेणी यसपालिको पलेँटी हुनेछ ।
तिलगंगा आँखा अस्पतालसँग आबद्ध थापा काठमाडौंका बासिन्दा हुन् । उनले ‘एक एक पाइला’ अभियानमार्फत स्वास्थ्य शिविरहरूमा सहभागी भई देशका विभिन्न जिल्ला भ्रमण गरेका छन् ।
उनले हालसम्म मोतिविन्दु र जलविन्दुका ५० हजारभन्दा धेरै शल्यक्रिया गरिसकेका छन् । शिविर–यात्राका क्रममा डाक्टर सुमनले अनेकौं अनुभव र अनुभूति संगालेका छन् । पलेँटीमा गीत सुनाउने क्रममा सुमनले आफ्ना तिनै अनुभव र अनुभूतिलाई समेत बाँड्ने छन् ।
नेपालयको आरशालामा पलेँटीका निम्ति गितार समातेर नयाँ धुन अभ्यास गरिरहेका सुमन भन्छन्, “पलेँटीमा गाउने कुराले म एकदमै उत्साहित छु, श्रवणजीले लेख्नुभएका गीत र आभासजीले भर्नुभएका धुनले मलाई रमाइलो नसा लगाएका छन् । यो क्षण मेरो सांगीतिक मोडमा अचानक भेटिएको सुन्दर बगैँचा हो ।”
प्रतिक्रिया दिएर उनी गीत गुनगुनाउन थाले– ‘किन बोल्नु बोल्दिन म बोल्छ आँखाले, पत्तै नपाई यो मनपेट खोल्छ आँखाले’ घाँटीमा भिरेको हार्मोनिकाबाट धुन निकाल्दै डक्टार सुमन आफ्नो सन्देश प्रवाह गरिरहेका सुनिए– ‘ओ पासाङ दाइ ओ बैनी फूलमतिया ! पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु, तिमीलाई सुन्दर संसार देखाउन ।’
रिहर्सल सकेर अकेस्टिक गितार बक्समा बन्द गरिरहेका सुमनलाई अस्पताल पुगेर अप्रेशन गर्नु छ त्यसैले उनी हतारमा देखिन्थे । ‘आर’शालाबाट बहिरिँदै गर्दा उनले भर्खर अभ्यास गरेको अर्को गीत गुनगुनाए– ‘हतार छ एकदम हतार छ ।’
“यसपालिका सृजनाले भिन्दै अनुभूति गराइरहेका छन् । श्रवणजीको गीति लेखनको सरलताको सौन्दर्यलाई सुमनजीको स्वरमा प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ”, संगीतकार आभासले भने ।
कात्तिक ८ र ९ गते हुने कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले गायक सुमन थापाको पेशा र सांगीतिक जीवनको सेरोफेरोमा रहेर संवाद पनि गर्नेछन् ।
कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा डक्टर सुमनलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, गितारमा सुरज प्रधान र प्रकसनमा सुन्दरकुमार महर्जनले साथ दिनेछन् ।