‘द हन्ड्रेड’ का लागि सन्दीपको मूल्य अहिलेसम्मकै उच्च
इङ्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट लिगको ड्राफ्टमा परेका सन्दीपको मूल्य विश्वका अरु फ्रेन्चाइज लिगमा उनले पाएकोभन्दा अहिलेसम्मकै सबैभन्दा बढी तोकिएको छ । ३ कात्तिकमा हुने ड्राफ्टमा आठमध्ये कुनै टोलीले उनलाई लिन चाहे झण्डै डेढ करोड रुपैयाँ तिर्नु पर्नेछ ।
आफैँले आफ्नो मूल्य तोक्नु पर्ने नियम बमोजिम सन्दीपले आफ्नो मूल्य एक लाख पाउण्ड तोकेका छन् । ‘द हन्ड्रेड’ को ड्राफ्टमा पर्ने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । उनी विदेशी कोटाको खेलाडीको ड्राफ्टमा परेका हुन् ।
यो प्रतियोगिता नयाँ अवधारणामा खेलाउन लागिएको हो । सय बलको प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाइनेछ । प्रतियोगितामा आठ टिम सहभागी छन् ।
यसअघि ३० असोजमा उनी यूएईमा हुने टी१० लिगमा पनि अनुबन्ध भएका छन् । उनलाई कर्नाटका टस्कर्सले ४५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।
बिग ब्यास र टी२० ग्लोबल लिग खेलिसकेका उनले यसअघि सर्वाधिक ६० हजार डलर पारिश्रमिक लिएका थिए । आइपिएलबाट क्रिकेट खेल्ने अवसर पाएपछि उनी अन्तारािष्ट्रय लिगहरु खेल्न थालेका हुन् ।