मानव अङ्ग बेचबिखन आरोपमा जिप्रका ललितपुरका शाखा अधिकृत सहित पाँचजना पक्राउ
मानव शरीर अङ्ग बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले निदान अस्पताल ललितपुरका सीईओ सहित पाँचजनालाई पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरी मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान शुरु गरेको हो ।
ब्यूरोले बुधबार पत्रकार सम्मेलन गरी गराएको जानकारी अनुसार पक्राउ पर्नेमा निदान अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका कानूनी सल्लाहकार कुमार भट्टराई, अस्पतालका डा राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला ग्रहण गर्ने रामेछाप दोरम्बाका शंकरलाल लामा रहेका छन् ।
नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा संलग्न रहेको आधारमा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
प्रहरीले मिर्गौला निकाल्ने व्यक्तिको परिचय खुलाएको छैन । थपलियाका अनुसार, भान्जाबाट मिर्गौला लिने कागजपत्र बनाई नक्कली व्यक्ति खडा गरेर शंकरलाल लामाको मिर्गौला प्रत्यारोपण गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
“नाता प्रमाणित गरिएको कागज र अस्पतालमा चेकजाँच गरिएका रिपोर्टमा मिर्गौला दिने व्यक्तिको तस्वीर नमिलेपछि शंका लागेर अनुसन्धान गर्दै जाँदा गडबडी देखियो,” पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक थपलियाले भने, “कसको के संलग्नता छ, अनुसन्धानबाट खुल्छ ।”
प्रारम्भिक अनुसन्धानबाट रु ३ लाख लिएर मिर्गौला दिएको प्रहरीले जनाएको छ ।