नेकपाका सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी जारी
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशमा गुरुङलाई ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार, ९ असोजमा सांसद गुरुङलाई म्याद तामेली दिइएको छ ।
इलाका प्रहरी कार्यालय सिंगटीले गौंरीशंकर गाउँपालिका मार्फत् सांसद गुरुङलाई म्याद तामेली पत्र बुझाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
सांसद गुरुङलाई २०७४ वैशाखको स्थानीय निर्वाचनका क्रममा काठमाडौंको गौशालामा वीरध्वज खड्कामाथि आक्रमणको आरोप लागेको छ । खड्काले सांसद गुरुङको समेत यसमा संलग्नता रहेको आरोप सहित जोहरी दिएका थिए ।