थप समाचारबुधबार, २९ आश्विन , २०७६

राम जन्मभूमि मुद्दाको सुनुवाइ पूरा, सर्वोच्च अदालतले फैसला सुरक्षित राख्यो

हिमालखबर

भारतीय सर्वोच्च अदालतमा रहेको राम जन्मभूमि तथा बाबरी मस्जिद विवादबारेको मुद्दाको सुनुवाइ पूरा भएको छ ।

तस्वीर : इन्डिया टुडे

बुधबार सुनुवाइको अन्तिम दिन थियो । हिन्दु पक्षको तर्फबाट निर्मोही अखाडा, हिन्दु महासभा, राम जन्मभूमि न्यासका तर्फबाट बहस गरे भने मुस्लिम पक्षका तर्फबाट राजीव धवनले बहस गरेका थिए ।

सबैको बहस र बयान पश्चात भारतीय सर्वोच्च अदालतले आफ्नो फैसला सुरक्षित राखेको बताइएको छ ।

यसअघि भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रंजन गोगोईले राजनीतिक रूपले संवेदनशील अयोध्याको राम जन्मभूमि तथा बाबरी मस्जिद विवादको मुद्दा बुधबार साँझ ५ बजेसम्म टुंगो लाग्ने बताएका थिए ।

गेगोईले बुधबार उक्त कुरा बताएका हुन् । उनले भने, “हामीले साँझ ५ बजेसम्म सुनुवाइ पूरा गर्छौं । अब धेरै भयो ।”

१३४ वर्ष पुरानो यो विवादलाई प्रधानन्यायाधीश गोगोईले आफू सेवाबाट अवकास लिनु पहिले सुनाउन चाहेको बताइन्छ । उनले १७ नोभेम्बरमा अवकास लिनेछन् ।

सुप्रिम कोर्टबाट अयोध्याबारे फैसला आउने सम्भावनालाई लक्षित गर्दै उत्तरप्रदेश सरकारले संवैधानिक धारा १४४ लगाएको छ । यसबाट सामूहिक रूपमा मानिस एकत्रित हुन पाउने छैनन् । ड्रोन उडाउन पनि रोक लगाइएको छ ।

सन् २०१० मा अयोध्या बारे इलाहाबाद हाईकोर्टको फैसलाविरुद्ध १४ वटा मुद्दा दर्ता गरिएको थियो । हिन्दु समुदायले १६ औं शताब्दीमा बाबरी मस्जिद राम जन्मभूमि स्थलमा बनाइएको थियो ।

यसै तर्कका आधारमा ६ डिसेम्बर १९९२ मा हजारौंको भीडले बाबरी मस्जिद भत्काइदिएको थियो । अयोध्या लगायत भारतका विभिन्न स्थानमा दंगा भएको थियो । –एजेन्सी

प्रतिकृया दिनुहोस