नेपाली युवा बोनिता शर्मा बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा
बीबीसीको विश्वका प्रेरक र प्रभावशाली एक सय महिलाको सूचीमा नेपाली युवा बोनिता शर्मा छनोट भएकी छन् ।
बुधबार सार्वजनिक ‘बीबीसी १०० वुमन अफ २०१९’ यो सूचीमा पर्ने बोनिता एकमात्र नेपाली हुन् ।
द सोसल चेञ्जमेकर्स एण्ड इन्नोभेटर्स (सोचाईं) नामक संस्थाकी संस्थापक बोनिताले आमा र बालबालिकाको पोषणको क्षेत्रमा काम गर्दै आइरहेकी छिन् ।
उनको संस्थाले महिलामा पोषण सम्बन्धी सचेतनाका लागि संस्थाले ‘न्युट्रीबिड्स ब्रासलेट’ अभियान पनि सञ्चालन गरिरहेको छ ।
संस्थालाई युनेस्को मलाला फण्डको सहयोग प्राप्त छ ।
बीबीसीले ‘विवाहको दबाब हुँदाहुँदै पनि आफ्नी आमाको दृढताका कारण डिग्री हासिल गर्न सफल’ युवा भन्दैं बोनिताले मातृ–शिशु मृत्युदर कम गर्न महत्वपूर्ण कार्य गरेको जनाएको छ ।
बोनिताले ट्विटमार्फत आफ्ना आदर्श महिलाहरूमाझ आफू समेत बीबीसीको सय महिलाको सूचीमा पर्दा अभिभूत भएको प्रतिक्रिया दिएकी छन् ।