थप समाचारबुधबार, २९ आश्विन , २०७६

इलाममा केशरखेतीको परीक्षण सफल

रासस

प्रतिकिलो दश लाख पर्ने उच्च मूल्यको जडीबुटी केशरको व्यावसायिक उत्पादन इलाममा शुरु गरिएको छ ।

तस्वीर : इन्डियामार्ट डटकम

जौवारी मल्टी परपोज एग्रिकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरूपमा केशरको खेती शुरु गरेको हो ।

भारतको कश्मीरबाट दुई मन केशरको बीउ ल्याएर थुम्के र जौबारीमा लगाइएको थियो । थोरै मात्रामा हिउँ पर्ने र तुसारो पर्ने ठाउँमा यसको खेती गर्न सकिने बताइएको छ । सामुद्रिक सतहदेखि एक हजार ५०० देखि दुई हजार ५०० मिटरको उचाइ केशरखेतीका लागि उपयुक्त मानिन्छ ।

परीक्षणका क्रममा गुणस्तरीय केशर उत्पादन भएको संस्थाले जनाएको छ । संस्थाका केशरखेती प्रवर्द्धक हरि कटवालका अनुसार कति उत्पादन यस वर्ष हुन्छ भन्नेमा पनि अन्योल छ ।

पहिलो वर्ष भएकाले पनि परीक्षणका रूपमा लगाइएको उनले बताए । पहिलो वर्षमा नै उत्साहजनक रूपमा यसको खेती फस्टाएको पनि उनले बताए।

केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूलभित्रको रातो लुर्का सङ्कलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ । करीब डेढ लाख सुगन्धित फूलबाट मात्र एक किलो केशर प्राप्त हुने सांसद टुण्डु शेर्पाले बताए।

अंग्रेजीमा स्याफरोन भनेर चिनिने केशरखेती यूरोपबाट शुरु भए पनि नेपालका केही भूभागमा यसको व्यावसायिक खेती शुरु भएको छ । केशरलाई नसा बलियो बनाउने, मुटु कलेजोको उपचारमा प्रयोग गरिने बताइन्छ । औषधीय गुण भएको केशर मसलाको रूपमा समेत प्रयोग गरिन्छ ।

यस खेतीले गाउँपालिकामा उत्साह बढाएको गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताए । महँगो खेती भएकाले पनि यस खेतीले पर्यटन प्रवद्र्धनसँगै समृद्धितर्फ अगाडि बढाउने उनले बताए । अहिले यस खेती हेर्नका लागि धेरै पर्यटक जाने गरेका छन् ।

प्रतिकृया दिनुहोस