प्रधानमन्त्रीकाे चिन्ताः सामाजिक सञ्जाल हेर्नै नसकिने भयो
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालका नाममा लेखिएका शब्दहरु सुन्न र हेर्नै नसकिने अवस्थामा पुगेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भृकुटी मण्डपमा आयोजना गरेको चियापानमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले सहिष्णु समाज भन्दा तल झरेकोमा चिन्ता व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, “यो नेपाली संस्कृति होइन, सामाजिक सञ्जालमा लेखिएको जस्तो समाज त्यति तल झरेको छैन ।”
निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएपछि सामाजिक सञ्जालमा देख्नै र सुन्नै नसकिने शब्दहरु लेखिएको बताए । राजनीतिक कुरा नगर्ने भन्दै मन्तव्य थालेका प्रधानमन्त्री ओलीले स्वस्थ राजनीतिक प्रतिश्पर्धामा आउन चुनौती दिए ।
देशका सम्भ्रान्त बर्गले देशमा केही नभएको भन्दै प्रचार गरिरहेको बताए । भने, “वैदेशिक लगानी बढेको छ । ६२ अर्बबाट ७६ अर्बमा पुगेको छ ।”
देशमा केही भएन भन्नेहरुको हल्लाले देश अगाडि बढ्न नरोकिने प्रधानमन्त्री ओलीले बताए । “हरेक नेपालीको ब्यांक खाता खुलेका छन् । पानीमा हरेक नेपालीको लगानी हुँदैछ”, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले तराईको डुवानको समस्या हल गर्न भारतसँग गम्भीर बार्ता भइरहेको बताए । पञ्चेश्वर अगाडि बढाउने विषयमा समेत भारत सँग कुरा भइरहेको प्रधानमन्त्री ओलीले बताए ।