वातावरण निबन्ध प्रतियोगिताका विजेताहरु पुरस्कृत
क्लिन अप नेपाल र युनेस्को, काठमाडौँको संयुक्त आयोजनामा विद्यालय स्तरीय वातावरण निबन्ध प्रतियोगिता सम्पन्न भएको छ | 'फोहोर जलाउने कार्य: यसका असरहरु र यसलाई कम गर्न युवाको भूमिका' शीर्षकको प्रतियोगितामा ब्राइट होराईजन चिल्ड्रेन्स होम स्कुलका रबिन लुइँटेल प्रथम, सैनिक आवासीय महाविद्यालयका प्रभास जीसी द्वितिय र बुढानिलकण्ठ विद्यालयका अभिनव देव तृतीय भएका छन् | विजेताहरुलाई क्रमश: रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिएको छ| पुरस्कार राशि मध्ये आधा विद्यार्थीले पाउने र बाँकी विद्यालयले फोहोर व्यवस्थापन कार्यमा उपयोग गर्ने भएको छ|
प्रतियोगितामा काठमाडौँ, ललितपुर र भक्तपुरका ४० विद्यालयका १७०० विद्यार्थी सहभागी थिए| युनेस्को शिक्षा इकाइ काठमाडौँका राष्ट्रिय कार्यक्रम संयोजक तपराज पन्त, टिच फर नेपालका बिजयराज पौडेल र क्लिन अप नेपालका अध्यक्ष डा. नीलम प्रधानाङ्ग निर्णायक मण्डलमा थिए।
कार्यक्रममा युनेस्को काठमाडौँका प्रतिनिधि नोरा वेंगरले वातावरण संरक्षण र दिगो विकासका लागि युवाहरुको प्रमुख भूमिका हुने धारणा राखे । फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले फोहोरमैला व्यवस्थापन ऐन २०६८ र फोहोरमैला व्यवस्थापन नियम २०७० को कार्यान्वयनमा जोड दिनुपर्नेमा उल्लेख गरे।