महिनावारी स्वच्छताको क्षेत्रमा काम गर्नेहरूको अन्तर्राष्ट्रिय सञ्जाल बन्दै
महिनावारी स्वच्छताको क्षेत्रमा काम गर्ने संस्थाहरूको दक्षिण एशियाली उपक्षेत्रीय सञ्जाल बन्ने भएको छ ।
नेपाल, भारत र बंगलादेशका त्यस्ता संस्थाहरूबीच सञ्जाल निर्माणका लागि छलफल अघि बढाइएको नेपाली प्याडमेन ज्ञान महर्जनले बताएका छन् ।
२८ असोजमा पोखरामा सम्पन्न नेपाल र भारतमा महिनावारी स्वच्छताको क्षेत्रमा कार्यरत संस्थाहरूको एउटा भेलाले त्यस्तो छलफल अघि बढाउने निर्णय गरेको बताइएको छ । यस्तो छलफल दुई महिनापछि कोलकातामा गर्ने निर्णय भएको पनि महर्जनले बताएका छन् ।
यसैबीच भारत पश्चिम बंगालको दुर्गापुर आरधना सोसियल वेलफेयर सोसाइटी (डीएएसडब्ल्यूएस) ले उक्त अवसरमा नेपाली प्याडमेन ज्ञान महर्जनलाई अभिनन्दन समेत गरेको छ ।
ललितपुर खोकनामा महर्जन महिनावारी भएका महिलालाई पुनः प्रयोग गर्न सकिने स्यानेटरी प्याड बनाउने तालिम दिने गर्दछन् ।
उनले हालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र पोखराका एकहजार भन्दाबढी महिलालाई पुनः प्रयोग गर्न सकिने स्यानेटरी प्याड बनाउने तालिम दिएका छन् । उनी अध्यक्षताको संस्था एक्स पोज नेपालले पुनः प्रयोग गर्न सकिने त्यस्तो स्यानेटरी प्याड वितरण गर्ने गरेको छ ।