समाचारमंगलबार, २८ आश्विन , २०७६

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक : बुटवल–गोरखपुर प्रसारण लाइनमा समान हिस्सा 

रासस

नेपाल र भारत ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण गर्न सहमत भएका छन् ।

यस्तै नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र बङ्गलादेश) बैठक आगामी तीन महीनाभित्र आयोजना गरिने भएको छ ।

सोमबारदेखि शुरु भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौता भएको छ ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको सन्दर्भमा दोस्रो अन्तदेशीय प्रसारणलाइन निर्माणको ढाँचा टुङ्गो लागेको हो । सहमतिअनुसार सो प्रसारण लाइनमा निर्माणमा नेपाल र भारतको ५०\५० प्रतिशत हिस्सा रहनेछ ।

नेपाल र भारतको समान लगानी रहने गरी संयुक्त कम्पनी स्थापना गरिनेछ । आगामी तीन महीनाभित्र दुई देशीय संयुक्त कम्पनी स्थापना गरिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इन्डियाले समानरूपमा लगानी गरी कम्पनी स्थापना गर्ने सम्बन्धी सहमति भएको हो ।

यस्तै लगानी संरचना भने ८० र २० प्रतिशत हुने गरी व्यवस्था गरिएको छ । त्यसमा ८० प्रतिशततर्फ भने सहुलियतपूर्ण ऋण लिइनेछ । यस्तै २० प्रतिशतको हकमा भने नेपाल र भारतका तर्फबाट स्वपूँजीका रूपमा लगानी गरिनेछ ।

यस्तै आगामी छ महीनाभित्र ‘इम्प्लिमेन्टनशन अफ ट्रान्समिशन सिस्टम एग्रीमेन्ट’ (आइटीएस) गर्ने सहमति भएको छ । त्यो भनेको प्रसारण प्रणालीलाई एक अर्कामा अन्तरसम्बन्धित गर्ने विषय हो ।

दुई दिवसीय बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरे र भारतका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गरेका थिए ।

यस्तै सहसचिवस्तरीय संयन्त्रको नेतृत्वका नेपालका तर्फबाट ऊर्जा हेर्ने सहसचिव प्रवीणराज अर्याल र भारतका सहसचिव एसकेजी रहातेले गरेका थिए । मन्त्रिपरिषद्को यही असोज १७ गते बसेको बैठकले संयुक्त निर्देशक समितिको बैठकमा भाग लिन तालुकदार मन्त्रालयका सचिवलगायत अधिकारीलाई स्वीकृति दिएको थियो ।

बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट विद्युत् लैजाने प्रतिबद्धता जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गत वर्षको भदौमा गर्नुभएको बङ्गलादेश भ्रमणमा बङ्गलादेशी उच्च सरकारी अधिकारीले सो प्रतिवद्धता जनाएका थिए ।

न्यू बुटवल गोरखपुर प्रसारणलाइन पनि ४०० केभी क्षमतामा नै निर्माण हुनेछ । सो प्रसारण लाइनको निर्माणका विषयमा दुई देशबीच सैद्धान्तिक सहमति भए पनि कुन विधि र ढाँचामा निर्माण गर्ने भन्ने विषयमा थप परामर्श जरुरी रहेको भन्दै सहमति हुन सकेको थिएन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन र भारतका ऊर्जा राज्यमन्त्री सिंहबीच गत भदौमा भएको छलफलका क्रममा सो प्रसारण लाइनका विषयमा देखिएका विवादलाई समाधान गरी निर्माण शुरु गर्ने र सम्बद्ध निकायले आवश्यक तयारी गर्ने सहमति भएको थियो ।

अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एससीसी)सँग सम्बन्धित आयोजनामा न्यू बुटवल गोरखपुर प्रसारण लाइनसमेत जोडिएकाले त्यसलाई सरकारले ठूलो महत्वमा राखेको छ । सो प्रसारणलाइन निर्माणका लागि संयुक्त कम्पनी बनाएर जान सकिनेमा नेपालको जोड रहँदै आएको थियो ।

 

प्रतिकृया दिनुहोस