नेपाली क्रिकेट टीमको कप्तानबाट पारसको राजीनामा
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले राजीनामाको घोषणा गरेका छन् । आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिवन्ध सर्तसहित हटाए लगत्तै उनले राजीनामा घोषणा गरेका हुन् ।
उनले २७ असोज दिउसो ट्विट गर्दै राजीनामा घोषणा गरेका हुन् । क्यानको नयाँ कार्यसमितिलाई काम गर्न सजिलो बनाउनका लागि आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन् । उनी अब खेलाडीको रुपमा मात्र रहनेछन् ।
“नेपाली क्रिकेटमाथिको प्रतिवन्ध हटाएको सुखद् क्षणमा नयाँ समितिलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको उन्नतीका लागि काम गर्न शुभकामना छ,” पारसले लेखेका छन्, “मैले नेपाली क्रिकेट टिमको कप्तान पदबाट राजीनामाको निर्णय गरेको छु ।”
पारसले सन् २००४ मा सिनियर टिममा डेब्यू गरेका थिए । उनी सन् २००९ मा कप्तान नियुक्त हुँदा २२ वर्षका थिए । क्यानले विनोद दासको स्थानमा उनलाई कप्तान नियुक्त गरेको थियो । त्यसलगत्तै उनको नेतृत्वमा जितेको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फाइभ प्रतियोगिता नेपालको त्यसवेलासम्मको ठूलो उपाधि थियो ।
उनकै कप्तानीमा नेपालले २०१३ मा टी२० विश्वकप खेलेको थियो । सन् २०१८ मा एक दिवसीय अन्तराष्ट्रियको मान्यता पाए यता नेपालले उनको नेतृत्वमा ६ खेल खेलेको छ । जसमध्ये तीनमा जित र तिनमा हार भएको छ ।
नेपालले अहिलेसम्म खेलेका २८ टी२० अन्तराष्ट्रियमध्ये २७ वटामा उनैले कप्तानी गरेका थिए । जसमध्ये ११ मा जित र १५ मा हार भएको थियो । एउटा खेलको नतिजा आएको थिएन। उनी नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तान र खेलाडी हुन् ।