एनआरएनएलाई राष्ट्रपतिको आग्रह, देशमा लगानी गर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरुको हितका लागि सरकारले नीतिगत तहबाट मद्दत गर्ने बताएकी छन् ।
२८ असोजमा काठमाडौंमा एनआरएनको नर्वाैं सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “नेपालको विकास र समृद्धिको प्रयासमा तपाईंहरुको भुमिका रहनुपर्दछ ।”
राष्ट्रपति भण्डारीले मुलुकमा लगानीका लागि बाह्य र आन्तरिक वातावरण अनुकुल भएको बताँउदै गैर आवासीय नेपालीलाई लगानीको लागि आह्वान गरेकी छन् ।
राष्ट्रपति भणडरीले विदेशमा आर्जन गरेको सीप, ज्ञान र स्रोतको नेपालमा उपयोग गर्न आवश्यक वातावरण बनाउदै सरकारले संरचना समेत खडा गरेको बताइन् ।
तीन दिनसम्म चल्ने सम्मेलनमा ८० भन्दा बढी मुलुकबाट दुई हजार बढी सहभागी छन् ।
आगामी २ बर्षका लागि एनआरएनको नयाँ नेतृत्व समेत चयन गर्ने सम्मेलनमा कुल आचार्य र कुमार पन्त नेतृत्वका दुई वटा प्यानल निर्वाचनको मैदानमा उत्रिएका छन् । आचार्य प्रजातन्त्रिक र पन्त वामपन्थी प्यानलको नेतृत्व गरिरहेका छन् ।
उम्मेद्वारहरुले एनआरएन सीप विकास केन्द्र खडा गर्ने, विभिन्न मुलुकमा नेपाली समुदायको हितको लागि हटलाईनको ब्यवस्था गर्ने, विदेशमा सिकेको सीप नेपालमा भित्र्याउने जस्ता चुनावी नारा अघि सारेका छन् ।