अब जितहार नभएसम्म सुपर ओभर
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सुपर ओभरको नियम परिवर्तन गरेको छ। अब कुनै पनि प्रतियोगिताको सेमीफाइनल र फाइनलमा जितहार नभएसम्म सुपर ओभर दोहोरिरहने छ। यो नियम टी२० र एक दिवसीय अन्तराष्ट्रिय दुवैमा लागू हुनेछ।
गत विश्व कप क्रिकेटको फाइनलमा सुपर ओभर नै विवादित भएपछि नियम परिवर्तन गर्न आईसीसीलाई दबाब परेको थियो। सुपर ओभरमा पनि इङ्ल्याण्ड र न्यूजिल्याण्डको रन बराबर भएको थियो। तर, बढी ‘बाउन्ड्र’ हानेको आधारमा इङ्ल्याण्डलाई विजयी घोषित गर्ने निर्णय विवादमा परेको थियो।
सबैभन्दा कडा टिप्पणी विम्बल्डनको ट्विटर ह्यान्डलबाट भएको थियो । आईसीसीलाई मेन्सन गर्दै लेखिएको थियो, “हेलो आईसीसी तिमी खेल सकिएको नाटक कसरी गर्न सक्छौ?” भारतीय क्रिकेटर गौतम गम्भीरले दुवै टिमलाई विजयी बनाउनुपर्ने बताएका थिए। युवराज सिंहले पनि आईसीसीको नियममा असहमति जनाएका थिए।
धेरैले आलोचना गर्न थालेपछि क्रिकेट वल्र्ड कपको ट्विट आएको थियो । त्यहाँ लेखिएको थियो, “एक विजेता, तर दुई च्याम्पियन।” यो ट्विटले नियम परिवर्तन गरिने अनुमान गरिएको थियो।
१३ र १४ अक्टोबरमा मुख्यालय दुबईमा बसेको आईसीसीको प्रमुख कार्यकारी समितिको बैठकले सेमिफाइनल र फाइनलमा फुटबलको पेनाल्टीजस्तै नियम बनाएको छ। जस अनुसार सुपरओभरमा बढी रन बनाउनेले जित्नेछ। जितहार नभएसम्म सुपर ओभर खेलिरहनूपर्नेछ।
समूह चरणमा भने नियम परिवर्तन छैन । पहिलाझैँ एक पटक मात्र सुपर ओभर हुनेछ। सुपर ओभरमा पनि बराबर रन भए दुवै टिमले समान अंक पाउने छन्।