महरालाई आज अदालत लगिंदै, स्वास्थ्य अवस्था सामान्य
संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्यर्वहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार (आज) अदालत उपस्थित गराइने भएको छ ।
१९ असोजदेखि प्रहरी हिरासतमा रहेका महरालाई थुनामै राखेर थप अनुसनधान गर्न म्याद थपका लागि अदालत काठमाण्डौ जिल्ला अदालत लैजान लागिएको हो ।
महागरीय प्रहरी वृत्तमा राखिएका महरालाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबारदेखि नर्भिक अस्पताल थापाथलीमा उपचाररत छन् । उनलाई अस्पतालबाट सिधै अदालत लैजान लागिएको प्रहरी स्रोतले बताएको छ ।
अस्पतालमै भएका कारण उनीसँगको बयान नै बाँकी रहेकाले म्याद थप गरेर बयान लिने तथा थप अनुसन्धान गर्ने प्रहरीको भनाइ छ । अस्पतालका अनुसार महराको स्वास्थ्य सामान्य हुँदै गएको छ । तर उनलाई कहिले डिस्चार्ज गर्ने बारे भने निर्णय भइसकेको छैन ।
यसअघि दशैँ बिदा, आइतबार सार्वजनिक बिदा तथा सोमबार अदालतहरु बिदा भएका कारण आज मात्र अदालत उपस्थित गराइन लागेको हो ।