समाचारसोमबार, २७ आश्विन , २०७६

औषधि पसलबाट लागुऔषधको ब्यापार

हिमालखबर

सुनसरीको इटहरी उपमहानगरपालिका २ पशुपति चोंकमा रहेको एक औषधि पसलबाटै लागुऔषधको ब्यापार हुने गरेको पाइएको छ ।

नेपालमा दर्ता भएका मात्रै औषधि बिक्री गर्ने अनुमति पाएको तिरुपति मेडिकलबाट प्रतिबन्धित औषधि नै बिक्री हुंने गरेको प्रहरीले पत्ता लगाएको छ ।

गत २३ गते मोरङको सुन्दरहरैंचामा इटहरी २ पशुपति चोकका असिम श्रेष्ठ (२०) बिभिन्न लागुऔषधसहित पक्राउ परेका थिए । उनकै वयानका आधारमा मेडिकलमा प्रहरीले छापा मारेको थियो ।

औषधि पसलमा बिक्री भई सकेका लागुऔषधिका खाली खोलहरु फेला परेको छ । मोरङका प्रहरी उपरिक्षक विश्व श्रेष्ठले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी औषधि पसलबाट डाइलेक्स औषधिका २ वटा खाली बोतल, स्पापाइन नाम औषधिको बिक्री भइसकेको २ सय १९ ट्याब्लेटको खाली खोल, स्पास्मो नामक औषधिका १९ खाली पत्ता फेला परेको जानकारी दिए ।

मेडिकल सञ्चालक सुन्दरहरैंचा ४ का नरेश यादव (२६) लाई प्रहरीले पक्राउ गरेको छ । यादवले लागुऔषध खोलबाट निकालेर ट्याब्लेट मात्रै बिक्री गर्दै आएका थिए ।

त्यसअघि पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले स्पास्पाइन १ हजार ६ सय ७० ट्याब्लेट, सेटाडोल १ हजार ६ सय ७० ट्याब्लेट, रिमोडोल ६ ट्याब्लेट बरामद गरेको थियो ।

पेस्तोल र खैरो हिरोइनसहित एक पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका १० विशालपथबाट प्रहरीले पेस्तोल, खैरो हिरोइन र लागुऔषधका ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानमा डेरा लिएर बस्दै आएका कोशी गाउंपालिका ३ का निरजकुमार राउत (२३) लाई पक्राउ गरेको हो । राउतको डेराबाट प्रहरीले ठुलो चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र १३ राउण्ड गोली बरामद गरेको छ ।

धरानका प्रहरी नायव उपरिक्षक ढुण्डिराज न्यौपानेले आइतबार राति बलबहादुर तामाङको घरमा रहेको राउतको डेराबाट डाइलेक्स डीसी १ सय एमएलका २ सय २५ बोतल, खैरो हिरोइन ७ ग्राम, नाइट्रोसन ६४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल बरामद गरिएको बताए । खैरो हिरोइन नाप्ने डिजिटल मेसिनपनि फेला परेको प्रहरीको भनाई छ ।

नायव उपरिक्षक न्यौपानेका अनुसार, यतिका लागुऔषध राउतले बक्स पलङको बक्स भित्र लुकाएर राखेका थिए । उनको साथमा फेला परेको पेस्तोलको नाम र उत्दापन गर्ने देशको नामपनि कोरेर मेटेको अवस्थामा फेला परेको छ । राउत लागुऔषधका ठुला कारोबारी भएको प्रहरीको भनाई छ ।

कमल रिमाल, विराटनगर

 

प्रतिकृया दिनुहोस