विमानस्थल तोडफोड गर्ने सांसदलाई कार्बाही नगरे सवै उडान बन्द गर्ने चेतावनी
जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड गर्ने संघीय सांसद प्रमोद साहलाई सात दिन भित्र कार्बाही नगरे सवै उडान बन्द गर्ने नेपाल वायु सेवा सञ्चालक संघले चेतावनी दिएको छ ।
संघले सांसद साहलाई कार्बाही गर्न सात दिनको अल्टिमेटम दिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित सर्लाही–१ का सांसद साहले सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेका थिए ।
नियमित समयभन्दा विमान ढिलो भएको भन्दै सांसद साहले विमानस्थलमा तोडफोड गरेका हुन् । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै साहले जनकपुर विमानस्थलमा रहेको काउन्टर तोडफोड गरेका हुन् ।
११ः३० बजेको बुद्ध एयरको जहाजबाट काठमाडौँ जान साह विमानस्थल पुगेका पनि जहाज करीब एक घण्टा ढिलो भएपछि साह आक्रोशित हुँदै विमानस्थलभित्र बुद्ध एयरको काउन्टरका साथै विशिष्ठ कक्षको टेबल कुर्सी तोडफोड गरेका थिए ।
तोडफोडबाट बुद्ध एयरको काउन्टरको सिसाका साथै कम्प्युटरमा क्षति पुगेको छ । “एयर ट्राफिकका कारण विमान नियमित समयभन्दा करीब एक घण्टा ढिलो भयो”, बुद्ध एयरका जनकपुर प्रबन्धक विजयप्रसाद सिंहले भने, “विमान किन ढिलो भएको भन्दै आक्रोशमा आएर सांसद साहले काउन्टरमा तोडफोड गर्नुभयो ।”
यसका साथै सांसद साहले विशिष्ठ कक्षभित्र रहेको सिसाको टेबलसमेत तोडफोड गरेको बताइएको छ ।
यात्रा अनुमति दिइए पनि साहले गरेका व्यवहारबारे सत्यतथ्य बुझेर के गर्नेबारे निक्र्यौलमा पुगिने प्रमुख जिल्ला अधिकारी कँणेलले बताए ।सांसद साहले बुद्ध एयरसमक्ष आत्मालोचना गरेको प्रजिअले बताए ।
“जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरी किड्नीका बिरामी थिए । उहाँलाई दिउँसो २ बजेसम्ममा चिकित्सक कहाँ पुगेर जाँच गराउनुपर्ने थियो । तर विमान आउन निकै ढिला भइरहेको थियो । त्यही आबेगमा आएपछि मैले तोडफोड गरेको हुँ”, सांसद साहले भने ।