पाँच सय बाजी जित्न मस्र्याङ्दीमा हेलिएका शिक्षक बेपत्ता
रु. पाँच सयको बाजी जित्न पौडिएर मस्र्याङ्दी तर्ने क्रममा एकजना बेपत्ता भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–७ का ४० वर्षीय राजु घिमिरे नदी पार गर्नेक्रममा १० पुसमा बेपत्ता भएका हुन् ।
बिहान १० बजे स्थानीय पद्म घिमिरे र राजु घिमिरेबीच पौडिएर नदी पार गर्ने विषयमा बाजी परेको थियो । उनीहरुबीच नदी पार गर्नेले रु ५०० बाजी जित्ने सहमति भएको थियो । घिमिरे स्थानीय शिक्षकसमेत हुन् ।
बाजीबमोजिम राजु मस्र्याङ्दीमा पौडिन होमिएका थिए । नदीको बीचसम्म पौडिएका घिमिरे त्यसपछि पौडिन नसकेपछि मस्र्याङ्दीले बगाएको हो । राजु नदी पार गर्न नसकी बेपत्ता भएपछि उनका साथी पद्म घिमिरेले प्रहरीलाई राजु नदीमा बेपत्ता भएको जानकारी गराएका थिए ।
बेपत्ता घिमिरेको खोजीकार्य भइरहेको र हालसम्म कुनै पत्तो नलागेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा पनि उनीहरु आज बिहानैदेखि मदिरा सेवन गरी बसेको र नदी पार गर्ने विषयमा दुईजनाबीच बाजी पनि परेको बुझिएको प्रहरीले जनाएको छ । रासस