थप समाचारआइतबार, २६ आश्विन , २०७६

पद्मश्री साधना तथा साहित्य पुरस्कार पन्त र सायनलाई

हिमालखबर

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दैै आएको ‘पद्मश्री साधना सम्मान २०७५’ बाट संस्कृतिज्ञ डा. महेशराज पन्त सम्मानित भएका छन् । यस्तै ‘पद्मश्री साहित्य पुरस्कार २०७५’ सर्जक रमेश सायनलाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले आइतबार राजधानीमा आयोजना गरेको एक समारोहका बीच पन्त र सायनलाई दुई\दुई लाख रुपैयाँ राशिको सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पन्त पाँच दशकदेखि इतिहास र संस्कृतिलाई लिपिबद्ध तथा जगेर्ना गर्दै आएका छन् ।

सायनलाई उनको गतवर्ष प्रकाशित ‘छुटेका अनुहार’ नामक संस्मरणात्मक कृतिका लागि पुरस्कार प्रदान गरिएको कार्यक्रममा जानकारी दिइयो । दुवै जनालाई प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उनकी आमा हरिकलाले सम्मान एवं पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष लामिछानेले अहिले प्रविधिको युगले पठन संस्कृतिमा गम्भीर असर परेको भन्दै इतिहास, संस्कृति र समाजका बारेमा साहित्यिक लेखन र पठनलाई निरन्तरता दिन पनि यसखालको सम्मानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी वर्षदेखि पुरस्कारको राशि बढाएर तीन\तीन लाख पुर्‍याइने जानकारी पनि दिए ।

साधना सम्मानबाट सम्मानित डा. पन्तले आफ्नो बाल्यकाल सम्झिदै आफूले स्वअध्ययनबाटै १४ वर्षको हुँदा एबिसीडी चिनेको बताए । देशको परिस्थिति सम्झिदै अहिले गणतन्त्रसम्म आइपुगे पनि देशको शासन प्रणालीमा कुन पद्धतिबाट गर्ने भन्नेमा अन्योल नै रहेको पन्तको भनाइ छ ।

२००१ सालमा काठमाडौंमा जन्मिएका पन्तले संस्कृति र इतिहासबारे अन्वेषण, अनुसन्धान तथा दर्जनौं लेखरचना तथा पुस्तकहरु प्रकाशित गरिसकेका छन् ।

अर्का सम्मानित साहित्यकार सायनले पाठकहरुले आफ्नो लेखन मनपराएकै कारण लेखनमा उर्जा आएको सम्झिदै यस्तो सम्मानले अझ आफैंप्रति लेख्न सक्छु भन्ने विश्वास बढेको बताए ।

राजनीतिक विश्लेषक हरि शर्माले आफू पाठक मात्र रहेको भन्दै समाजको चित्रण गरेर लेख्नु लेखक\साहित्यकारहरुको ठूलो शक्ति भएको बताए ।

२०६२ सालमा स्थापित प्रतिष्ठानले २०६७ सालदेखि साहित्य, कला, संस्कृति, संगीत, अभिनय आदि क्षेत्रमा साधनारत वरिष्ठ साधकहरुलाई पद्मश्री साधना सम्मान र प्रकाशित कृतिहरु मध्येबाट छनौट गरेर साहित्यिक पुरस्कार प्रदान गर्ने गरिएको छ ।

प्रतिकृया दिनुहोस