फरक घटनामा दुई भारतीय युवकको मृत्यु
दुई फरक घटनामा रौतहटमा दुई भारतीय युवकको मृत्यु भएको छ ।
आइतबार साँझ भारततिरबाट भारतीय नम्बर प्लेटकै मोटरसाइकलमा आएका तीनजनाले रौतहटमा एकजनालाई गोली हानी दुईजना भारततिरै फर्केका छन् ।
रौतहटको ईशनाथ नपा ६ मा भारतीय सीमाभन्दा एक किलोमिटर भित्र नेपालतिर एकान्तमा गोली हानी फेरि भारततिरै फरार भएको स्थानीयको भनाइ छ ।
गोली लागेका अन्दाजी २३ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको छ । युवकको पहिचान खुल्न सकेको छैन ।
युवक भारतीय नै भएको स्थानीयको अनुमान छ । घटनाको विषयमा प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसैगरी आइतबार बिहान करेन्ट लागेर एक भारतीय किशोरको मृत्यु भएको छ । रौतहटको माधवनारायण नपा ६ माधोपुरमा गत दश दिनदेखि पाउरोटीको कारोबार गर्दै आएका भारत बिहारको बिसनपुरका १८ वर्षीय किशोर अरुण महतोको आइतबार करेन्ट लागेर मृत्यु भएको हो ।
सञ्जय मित्र, रौतहट