भूटानी शरणार्थी शिविरमा आगलागी
झापाको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा आगलागी भएको छ ।
आगलागीबाट शिविरका १० छाप्रा जलेका छन् । खर र बाँसले बनेका शरणार्थीका बाक्ला छाप्रामा लागेको आगो छिट्टै फैलिएको थियो ।
२६ असोज बिहान १० बजे बेलडाँगी शिविरको सेक्टर सी बाट आगलागी भएको प्रहरीले जनाएको छ ।
दमक, बिर्तामोड र गौरादह नगरपालिकाका दमकल, प्रहरी र स्थानीयको मद्दतमा मध्यान्ह १२ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट कम्तिमा एक करोड बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।
छाप्रो जलेर खरानी भएपछि त्यहाँका शरणार्थी शिविरकै अन्य शरणार्थीका छाप्रामा आश्रय लिएर बसेका छन् ।
बेलडाँगी शिविरमा हाल करीब ५ हजार भूटानी शरणार्थी रहेका छन् ।