नेपाल र चीन बीच १८ समझदारी पत्रमा हस्ताक्षर
चिनियाँ राष्ट्रपति सी चिङफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देश बीच १८ समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई लेटर अफ एक्सचेञ्जमा समेत हस्ताक्षर गरिएको छ ।
दुई देशको मन्त्रिपरिषद स्तरीय वार्ता पछि १८ समझदारी पत्रमा हस्ताक्षर भएको हो । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिका लगायत सरकारी निकायसँग साझेदारी गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरे ।
प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार मन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए ।
चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विमर्श भएको थियो ।