दुई देशका सरकार र जनता बीचको दूरी घटाऔंः सी
चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देश बीचको सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँगको भेटवार्तामा राष्ट्रपति सीले चीनमा आफूहरुले जनता र राष्ट्रलाई सही बाटामा डोर्याएका कारण जनताको अपार समर्थन पाएको बताए ।
भेटमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति सीले नेपालको राजाीतिक उपलब्धि र विकासको पहल र नेपालको विशेषतासहितको प्रयत्नलाई बधाई दिएका थिए । सीले चीन सरकार नेपालको विकासका प्रयासलाई सहयोग गर्न तत्पर रहेको विश्वास दिलाएका थिए ।
“नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ । हामीबीच पहिलेदेखि नै राम्रो सम्बन्ध रहिआएको छ । यसलाई सबै तहमा विश्वास र विस्तार गर्नुपर्छ” सीले भने, “हामीहरु बीचको सम्बन्धलाई सरकार जनता, पार्टीको तहमा अगाडि बढाउनुपर्छ । दुई कम्युनिष्ट पार्टी भएकाले हाम्राबीचको राजनीतिक तहमा सम्बन्धका दायरा र आयामलाई अगाडि बढाउनुपर्छ ।”
चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा शक्ति आर्जन गरेका कारणले त्यसैको आधारमा मात्रै आफूहरु हिँडिरहेको भन्ने नभएको बताए ।
राष्ट्रपति सीले भने, “शक्ति प्राप्त गरेका कारणले मात्रै होइन । कम्युनिष्ट पार्टीले आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्छ । त्यसलाई केन्द्रमा राखेर समाजवाद निर्माण गर्नुपर्छ । चीन र नेपालको बीचमा सकारात्मक पाटो मात्र छैन । चुनौतीका पहाड पनि छन् भन्ने बुझ्दै अगाडि बढ्नुपर्छ, जुन कुरा मैले हिजोको सम्बोधनमा समेत इङ्गित गरेकोे छु ।”
भेटवार्तामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालय सदस्यहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, महासचिव बिष्णुप्रसाद पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए ।