रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा
चिनियाँ राष्ट्रपति सी चिङफिङले नेपाल–चीन बीच जोड्ने रेल मार्गको सम्भाव्यता अध्ययनमा सहयोग गर्ने घोषणा गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले हिमाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् । दुवै देशका शीर्ष नेताहरु सामेल रात्रिभोजमा राष्ट्रपति सीले केरुङ काठमाडौं जोड्न सरुङ मार्ग निर्माणमा चीनको सहयोग हुने बताए ।
राष्ट्रपति सीले नेपाल भ्रमण वर्षलाई सहयोग गर्न चिनियाँ पर्यटक नेपाल पठाउन सहयोग गर्ने घोषणा गरे । सीले भने, “भूपरिवेष्ठित मुलुक हुनुको पीडाबाट मुक्त हुने नेपालकाे सपनामा हामी सहयोग गर्छौ ।” नेपाल र चीनको सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको भनाइ थियो ।
सीले नेपालमा पहिलो भ्रमण गरे पनि पुरानो मित्रहरुलाई भेटेर खुशी लागेको बताए ।
राष्ट्रपति सीले कनेक्टिभिटीमा नेपाललाई सहयोग गर्ने बताए । राष्ट्रपति सी भन्दा अगाडि राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी थिइन् । राष्ट्रपतिले केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग नेपालको सपना भएको बताएकी थिइन् ।
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै राष्ट्रपति भण्डारीले चीन विरोधी गतिविधि हुन नदिने समेत बताएकी छन् ।
राष्ट्रपति भण्डारीले चिनियाँ टोलीका लागि रात्रि भोजको आयोजना गरेका हुन् ।
दुई दिने राजकीय नेपाल भ्रमणमा आएका सी र राष्ट्रपति भण्डारी बीच शितल निवासमा वान टू वान वार्ता भएको छ । सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल बीच एकल वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री केपी ओली सँग भेटवार्तामा दुई देश बीच दर्जन बढी सहमतिको तयारी भएको छ । राष्ट्रपति सी दिउँसो एक बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।